
६ जेठ , काठमाडौ । दरबारमार्गमा कार्यरत् ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा नाबालकसहित ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
काठमाडौँ जिल्ला प्रहरी परिसरले हत्यामा संलग्न ७ जनालाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । प्रहरीले ४ जनालाई तारकेश्वर जंगलमा सुतिरहेको अवस्थामा फेला पारेको थियो । त्यहाँ २/२ जना केटा र केटी थिए । उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाइ फायरसमेत गरेको जनाएको छ ।
खोटाङको मजुवागढी गाउँपालिका-१ का का ३२ वर्षीय युवराजको शव शंकास्पद अवस्थामा शुक्रबार मनमैजुस्थित निर्माणाधीन घरमा भेटिएको थियो । टोखा नगरपालिका गंगबु गणेशथान बस्ने उनी ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा कार्यरत थिए ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख वसन्त रजौरेका अनुसार घिमिरे ड्युटी सकेर घरजानु अघि खाजा खान तार्केश्वर ११ को एक सानो होटलमा पसेका थिए । सोही क्रममा अन्जली श्रेष्ठ र सचिन परियार पनि त्यही खाजा घरमा खाजा खान पुगेका थिए । घिमिरे र परियारको पुरानो चिनजान अनुसन्धानबाट देखिएको छ । उनीहरु तीनजना सँगै एउटै टेवलमा बसेर खाजा खाएका थिए ।
‘त्यहीँबाट उनीहरूबीच विवाद सुरु भएको देखिन्छ । युवराजले अन्जलीलाई आँखा झिम्काएको सचिनले भनेको छ । त्यसपछि सचिनले अन्जलीलाई विसन्चो भयो भनेर माथिसम्म पुर्याइदिन युवराजलाई अनुरोध गरेका थिए । उनीहरू एउटै मोटरसाइकलमा सो स्थानमा गएको पाइएको छ’, रजौरेले भने ।
युवराजलाई पहिलेदेखि नै त्यहाँ रहेका विपना, नुरमाया, बुद्ध, अमृत र नाबालकले अन्धाधुन्द इटा, रड, बेल्ट र ढुंगा प्रहार गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । हत्यापछि युवराजको शव ठाउँ परिवर्तन गरी घरभन्दा केही बाहिर छोपेर राखिएको थियो ।
युवराजको जुत्ता जलाएर भागेका उनीहरू जरखुतर्फ गएर सडकपेटीमा सुतेको रजौरेले बताए । युवराजले मदिरा खाए/नखाएको परीक्षण भइनसकेको बताइएको छ । हत्याकाे पूर्वयाेजना भने नदेखिएकाे उनकाे भनाइ छ ।
‘पुरानाे रिसिबी हुन सक्नेतर्फ अनुसन्धान अघि बढेकाे हाे ।अन्जली श्रेष्ठ र सचिन परियार लिभिङ टुगेदरमा थिए’, रजौरेले भने । महिलासँग भने युवराजको चिनजान नभएको प्रारम्भिक अनुसन्धान देखिएको छ ।
‘यो टोली एकैठाउँमा बस्ने टोली होइन । उनीहरु ७ दिन एक ठाउँमा बसे ७ दिन अर्को ठाउँमा बस्ने गरेका थिए । यिनीहरु निमार्णाधीन घरहरुमा बस्ने टोली रहेछन् । उनीहरु विगत लामो समयदेखि सँगै बस्दै आइसकेका थिए । प्रहरी प्रमुख रजौरेले भने,’ मृतक अहिलेसम्म त्यो स्थानमा गएको भेटिएको छैन । खाजाघरमा आखाँ झिम्काएको निहुँमा त्यहाँबाट सुरु भएको हुन सक्छ ।’
युवराजसँग भएको पैसा लगेको हुनाले लुटपाट हुन सक्ने उनको अनुमान छ । उनको साथमा २ हजार रुपैयाँ लगेको खुलेको छ । खाजा खाएको ठाउँबाट घटनास्थल ४ किलोमिटर पर रहेको छ । सचिन र अमृत यसअघि चोरी घटनामा मुद्दा परेको थियो ।