नेपाल प्रहरीले पाँच वर्षमा विभिन्न मुद्दामा दोषी रहि फरार रहेका ३० हजार ४४७ जनालाई पक्राउ -
Comments Add Comment

नेपाल प्रहरीले पाँच वर्षमा विभिन्न मुद्दामा दोषी रहि फरार रहेका ३० हजार ४४७ जनालाई पक्राउ

काठमाडौं । प्रहरीले पछिल्लो पाँच वर्षमा विभिन्न अपराधमा दोषी ठहर भएर फरार रहेका ३० हजार ४४७ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ । त्यसरी पक्राउ पर्नेमा १६ वर्षदेखि फरार व्यक्तिसमेत छन् ।

अपराध गरेर अदालतबाट दोषी ठहर भएकाहरुको खोजी गर्ने क्रममा आव ०७५/७६ मा २५ सयजना पक्राउ परेका हुन् । उनीहरुबाट जरिवाना मात्रै ४० करोड ७० लाख रुपैयाँ असुल भएको छ । त्यस्तै ०७६/७७ मा २३ सय ३२ जनालाई पक्राउ गरी ३८ करोड जरिवाना असुल गरिएको तथ्यांक प्रहरीको छ ।

आव ०७७/७८ मा फरारको सूचीमा रहेका सात हजार तीन सय जनालाई कानुनको दायरामा ल्याइँदा ४८ करोड जरिवाना असुल भएको छ । यस्तै ०७८/७९ मा ६ हजार दुई सय जनालाई पक्राउ गरेर ६२ करोड जरिवाना असुल गरेको प्रहरीले गत आवमा मात्रै ११ हजार ९ सय २ जनालाई पक्राउ गरी कानुनको दायरामा ल्याएको थियो । उनीहरुबाट ९९ करोड जरिवाना असुल भएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले हिरासतबाट आरोपी मुक्त गराएर फरार भएका प्रहरीकै पूर्वजवान १६ वर्षपछि दुई साताअघि मात्रै पक्राउ परेका थिए ।

६ लाख रुपैयाँ लिएर लागुऔषध कारोबारका आरोपीलाई भगाएर आफैं भारत पलायन भएका वीरबल राय यादव १६ वर्षपछि पक्राउ परेका हुन् । अपराध गरेर फरार भएकाहरु प्रहरीको खोजीबाट उम्किन हुलिया नै परिवर्तन गरेर बस्ने गरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्रसिंह राठौरले जनाए ।

नेपालमा अपराध गरी तेस्रो देश पुगेकाहरु पनि पक्राउ परिरहेका छन् । एक वर्षमै ८ जनालाई इन्टरपोलमार्फत पक्राउ गरेर ल्याइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै