काठमाडौँ । भारतको हरियाणा र पंजाब घर भएका ११ जनालाई काठमाडौँमा ल्याएर ठगीमा संलग्न गिरोहले ‘बन्धक’ बनाएका छन् । काठमाडौँ महानगरपालिका–९ रातोपुलस्थित अल्का बजाजको घर भाडामा लिएर आरोपीहरुले पीडितलाई थुनामा राखेर कुटपिट र यातना दिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
फागुन २ मा रातोपुलबाट ११ जना पीडितलाई उद्धार गरेर ८ जना भारतीय र २ जना नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले बताए । आरोपीहरुले भारतीय नागरिकलाई ‘अमेरिका सपना’ देखाएर काठमाडौँ ल्याएका हुन् ।
पीडितहरुलाई दुबई पुर्याएर र नयाँ दिल्लीबाट सिधै काठमाडौँमा ल्याएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । काठमाडौँमा ‘बन्धक’ बनाएपछि भारतमा भिडियो कुराकानी गर्न लगाएर रकम असुलेका हुन् । भिडियोमार्फत आफन्तलाई कुरा गराउँदा आरोपीहरुले पीडितलाई ‘सुरक्षित रुपमा मेक्सिको आइपुगेँ अब, अमेरिका पुग्दैछु’ भन्न बाध्य बनाएका थिए ।
मेक्सिकोको भाषा, समय र संस्कृतिसँग मिल्ने कृतिम वातावरण रातोपुलस्थित बन्धक बनाएको घरमा सिर्जना गरेर भिडियो कलमार्फत आफन्तलाई देखाउने गरेको प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र खत्रीले बताए । एसएसपी खत्री भन्छन्– ‘भिडियोमार्फत कुराकानी गराएपछि आफन्तसँग भारतीय रुपैयाँ ४० लाखसम्म असुल गरेको अनुसन्धानबाट देखिन्छ ।’
पीडितलाई दबाव र यातना दिएर ‘म सुरक्षित छु’ भन्न लगाएपछि गिरोहले ४० लाख भारतीय रुपैयाँ एजेन्टको खातामा डिपोजिट गर्न लगाउँथे । भारतमा आफन्तलाई विश्वासमा पार्न आरोपीहरुले क्यानडाको समय देखाउने घडीको फोटो र भिडियो देखाउने गरेका हुन् ।
‘अमेरिका पठाउँछौ’ भनेर दुबई र कतार पुर्याएर आरोपीहरुले ‘अर्को ट्रान्जिट’ भन्दै नेपालमा ल्याउने गरेका थिए । अनुसन्धानमा संलग्न डीएसपी हरि खतिवडा भन्छन्–‘केही पीडितलाई सुरुमै काठमाडौँ ल्याएको पनि देखिन्छ ।’





