दाङमा एक प्रहरीले आफ्नै श्रीमतीको गोली हानी हत्या गरेका छन्। मृतक महिला पनि प्रहरी नै हुन्।

घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरी धनमाया थापालाई उनका श्रीमानले गोली हानी हत्या गरेका दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए।

प्रहरी जवान धनमाया वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत थिइन्।

बाँकेको नेपालगञ्जमा सहायक हवल्दारका रूपमा कार्यरत धनमायाका श्रीमान यमबहादुर झाक्री साढे ८ बजेतिर गोली हानेर धनमायाको हत्या गरेको एसपी के.सीले बताए।

धनमाया घोराही उपमहानगरपालिका–१५ दामोदर चोकमा ड्युटीमै थिइन्। मोटरसाइकलमा आएका यमबहादुरले पेस्तोलबाट तीन राउन्ड गोली प्रहार गरी फरार भएका थिए। गोली प्रहारपछि भाग्दै गरेको अवस्थामा लमहीको अर्जुनखोलाबाट उनी पक्राउ परेको एक प्रहरी अधिकारीले बताए।

घाइते धनमायालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार धनमाया र यमबहादुरको सम्बन्धमा खटपट थियो। उनीहरूबीच छुटापत्रबारे मुद्दा जिल्ला अदालत दाङमा विचाराधीन छ। उनीहरूकी एक नाबालिग छोरी छन्।

घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ।

केही दिनपहिले मात्रै दाङको घोराहीमै कार्यरत अर्का एक प्रहरीले आफ्नी श्रीमती र नाबालक छोराको हत्या गरेका थिए। हत्यापछि उनी आफैं प्रहरीकहाँ पुगेका थिए।