काठमाडौं । अघिल्लो साता बिहीबार लुम्बिनी प्रदेशको दाङमा ड्युटीमा रहेकी प्रहरी जवान धनमाया थापामाथि गोली प्रहार भयो । वडा प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान थापा ड्युटीमै रहेका बेला उनका श्रीमानले नै गोली हानेको पुष्टि भएको हो । गोली हानेर भाग्दै गर्दा उनका श्रीमान् पक्राउ परेका थिए ।
तर श्रीमतीलाई गोली हान्नुअघि झाँक्री एक पत्र लेखेर अर्को जुनीमा पनि श्रीमान्–श्रीमतीको रुपमा रहन पाइयोस् भनेका छन् ।
अनुसन्धानका क्रममा प्रहरीले प्राप्त गरेको पत्रमा झाँक्रीले भनेका छन्, “यो जन्ममा तिमी र म बूढाबूढी भएर सात वर्षमात्र बाँच्न सफल भयौँ तर अर्को जन्ममा तिमी र म नै बूढा बूढी भएर सय (धेरै) वर्ष सँगै बाँच्न पाउँ बूढी ।”
उनले लेखेको पत्रमा आफूले अघिल्लो श्रीमतीलाई डिभोर्स दिएर धनमायालाई अँगालेको उल्लेख गर्दै अहिले उनले नै बाटो बिराउँदा आफू घर न घाटको भएको दाबी गरेका छन् ।
उनले लेखेको पत्रमा आफूले अघिल्लो श्रीमतीलाई डिभोर्स दिएर धनमायालाई अँगालेको उल्लेख गर्दै अहिले उनले नै बाटो बिराउँदा आफू घर न घाटको भएको दाबी गरेका छन् ।
पत्रमा उल्लेख भएअनुसार धनमायाले यमबहादुरसँग छुट्टिनका लागि डिभोर्स पेपर दर्ता गराएकी थिइन् । “मेरो छोरीको भविष्य बर्बाद बनाउन खोज्दैछन् । त्यसैले त्यो देउतीबजैको मन्दिरमा खाएको कसम सम्झिँदै यो निर्णय लिन बाध्य भएको छु,” पत्रमा झाँक्रीले लेखेका छन् ।
उनले श्रीमती थापालाई एक परपुरुषसँग सम्बन्धका कारण आफ्नो घरबार भत्किएको पनि पत्रमा उल्लेख गरेका छन् ।
“…खत्री भन्ने केटासँग लागेको रहीछन्, त्यो केटा मेरो बूढी बिदामा बस्दा कोठामा आउने जाने गरिरहँदो रहेछ,” पत्रमा उल्लेख छ, “मैले थाहा पाएपछि उनीहरुले अब यस्तो नगर्ने सहमति पनि भएको थियो । केही दिन चुप लागेर बस्नुपर्छ भन्दै मलाई मेरो बूढी र त्यो केटा मिलेर अदालतमा सम्बन्ध बिच्छेदको मुद्दा हालेको रहेछ ।”





