१६ चैत, काठमाडौं । तारकेश्वर नगरपालिकामा दिनानुदिन जनताका काम बढ्दै गएका छन् तर जनप्रतिनिधिहरु नेकामका भएका छन् । स्थानिय सरकारका जनप्रतिधिनि आफ्ना घर र कम्पाउन बनाउन व्यस्थ देखिन्छन् ।

जनताहरुलाई तार्केश्वरले दिएको सास्ती :

वडा नं. ११ को नेपालटार प्रवेश गर्ने मुख्य पुल सानो भएका कारण दैनिकजसो सडकजाम हुने गरेको छ ।

एकैपटक २ ओटा बस ओहोरदोहोर गर्न पुलबाट नसकिने अवस्था भएका कारण बाइपास नेपालटार हुँदै यात्रा गर्ने यात्रुहरु वर्षौदेखि हैरानीमा परेका छन् ।

जनताले अघिल्लो स्थानीय सरकारको पालादेखि नै पुल निर्माणबारे आवाज उठाइरहँदा पनि पुल निर्माण हुन सकेको थिएन । अहिले भने तारकेश्वर नगरपालिकाले पुल निर्माण गर्नुको सट्टा पुलमै जोडेर मौलिकता सहितको गेट ५२ लाखमा निर्माण सुरु गरेको छ ।

जनताको आवश्यकता एकातिर–तारकेश्वर नगरपालिका कुम्लो बोकी ठिमीतिर भनेजस्तै स–साना खाल्टाखुल्टी भएका पिच सडकको मर्मत सम्भार गर्न बजेट नभएको नगरपालिकाले अहिले प्रवेशद्धार निर्माणमा प्राथमिकता दिएको छ ।

चुनावको समयमा घोषणापत्रमा एक घर–एक धारा अभियान नै पहिलो प्राथमिकता भनेर जनतामा प्रतिवद्धता जनाएका उम्मेदवारले नै चुनाव जित्दा पनि नगरपालिकाले २ वर्षको बजेट सकिनै लाग्दा पनि खानेपानीमा बजेट नराख्दा जनतामा आक्रोश बढेको छ ।

तारकेश्वर ११ का एक स्थानीय भन्छन् – मनमैजुबाट सुरु भएको गेट निर्माण कार्यले प्राथमिकता पाई अहिले नेपालटारसम्म पुगेको छ । अझै कहाँ–कहाँ पुग्ने हो ३ वर्षमा हेर्न बाँकी छ ।

सडकजस्तो संवेदनशील संरचना बनाउन छोडेर गेटमा बजेट हालेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । अनावश्यक संरचनामा लगानी देखिएकाले नगरपालिकाको बजेट दुरुपयोग भएको र यसले भ्रष्टाचारको आशंका जन्माएको स्थानीयको आरोप छ ।

नेपालटार पुलदेखि डाँडागाउँ जाने मुल सडकको दुई सय मिटर सडकमा ढल पाइप राखेर तत्कालै पिच गर्ने भन्दै भत्काएर छाडेको एक वर्ष बित्यो । उत्त, सडकमा ढलका ढकनसमेत नराख्दा पैदल यात्रुको जीवन नै जोखिममा परेको छ । सडकभरि खुल्ला छोडिएका ढलमा परेर कुन बेला दुर्घटना हुने हो भनेर यात्रुहरु त्रासमा रहन्छन् ।

नेपालटार पुलदेखि डाँडागाउँसम्मको सडक भत्काएर छोडेपछि पानी पर्नासाथ हिलाम्मे हुन्छ भने पानी रोकिएपछि धुलाम्मे हुने गरेको छ । शुभकामना चोक–लोकतान्त्रिक चोक जस्ता मुल सडकमा सामान्य भत्किएको पिचको मर्मत सम्भार नहुँदा अहिले दैनिक सडक दुर्घटना हुने अवस्था पुगेको छ ।

तारकेश्वर वडा नं. २ बाट वडा नं. ७ को सिमाना हुँदै बग्ने खोलामा करिडोर निर्माण भएको छैन । वडा नं. ५ र ६ को सिमानामा रहेको कमेरे खोला, वडा नं. ४ र ५ को सिमानाबाट बग्ने नागिनी खोलामा करिडोर निर्माण गरी सडक बनाउन आवश्यक छ । नागिनी खोलाको अर्यालटारमा रहेको फुटबल ग्राउण्डमा खोला नै पुरिएको छ ।

यस्ता खोलाहरुको मापदण्ड कायम गरी दुबैतर्फको करिडोरमा सडक निर्माण गरी तारकेश्वरको ५० वर्ष पछिको अवस्थालाई सम्झोर दिगो विकासको लक्ष्य अनुसारको योजना निर्माण स्थानीय सरकारले गर्न सकिन्छ ।

नागिनी र कमेरो खोलाको आवश्यक स्थानमा पक्की पुल निर्माण नगर्दा नागरिकहरु काठेपुल बनाई हिँडडुल गर्दै आएका छन् । खोलाको मापदण्ड र करिडोर निर्माण नगर्दा नगरपालिका भित्रबाट बग्ने खोलाहरु दैनिक साँघुरिँदै गएको अवस्था छ । करिडोर क्षेत्रमा मापदण्ड नछोडी बस्ती विकास भइरहेको छ ।

तारकेश्वरमा सार्वजनिक जग्गा व्यक्तिबाट कब्जा भइरहँदा पनि नगरपालिकाले नदेखेझैं गरी बसेको छ । तारकेश्वर नगरपालिकाले आफ्नो नगर भित्रका सार्वजनिक जग्गाको संरक्षण गर्नका लागि जग्गाको तथ्याङ्क संकलन समेत गरेको पाइदैन ।

अहिले नेपाल सरकार गृह मन्त्रालयले जिल्ला प्रशासक मार्फत् सार्वजनिक जग्गाहरुको अवस्था, व्यक्तिले आफ्नो नाममा बनाएका जग्गाको विवरण र कब्जा मात्र गरेका जग्गाहरुको तथ्याङ्क तत्काल उपलब्ध गराउन स्थानीय सरकार र नापी कार्यालयसँग माग गरिसकेको छ ।

तारकेश्वरमा व्यक्तिले वर्षौदेखि कब्जा गरी घर बनाई बसेका घरहरुलाई समेत नगरपालिकाले हटाउन नस्कदा तारकेश्वरमा सार्वजनिक जग्गाहरु कब्जा हुँदै गइरहेको छ ।

कति ठाउँमा त बाटो खुलाउँदा सार्वजनिक जग्गा मासेर नै बाटो निर्माण गरिएको छ । तार्केश्वरका नगर प्रमुख महर्जनले आफ्नो घर कम्पाउडमा गेटहरु निर्माण गर्नुका साथै कुलदेवता मन्दिर निर्माणलाई प्राथमिकता दिएका छन् । नेपाली काँग्रेसका नेता डा. केदार नरसिंह केसीले कि.न. ६२ र ६३ को नेपाल सरकारको जग्गा कब्जा गर्दा पनि स्थानीय सरकार र प्रतिनिधि सभा सासंद गणेश पराजुली र क्षेत्र नं ६ का सासंद शिशिर खनाल समेत मौन भएको देखिन्छ ।