नेपाल–भारतको सीमा क्षेत्रमा बसेका महिलाको उद्धार गर्ने संस्थाकै योजनामा ५ किशोरी बेचिए -
Comments Add Comment

नेपाल–भारतको सीमा क्षेत्रमा बसेका महिलाको उद्धार गर्ने संस्थाकै योजनामा ५ किशोरी बेचिए

२६ चैत , काठमाडौ । भारतमा बेचिने चेलीहरुको उद्दार गर्न नेपाल–भारतको सीमा क्षेत्रमा बसेका संस्थाकै कर्मचारीहरुको योजनामा नेपालका ५ किशोरी भारत पुगेको रहस्य खुलेको छ ।

परिवारमा समस्या परेका र आर्थिक प्रलोभनमा समस्यामा परेका ती चेलीहरुलाई भारतमा रोजगारीमा लगाइदिने तथा बिहे गरेर उतै राम्रोसँग राख्ने प्रलोभनमा ती किशोरी नेपालको बोर्डरबाटै भारतमा पुराइएको विषय पीडित किशोरीले नै सार्वजनिक गरेपछि यो विषयलाई थप गम्भीर बनाएको हो ।

काम लगाइदिने प्रलोभन दिएर भारतको विहार पुर्‍याइएका पाँच जना किशोरीलाई उद्धार गरिएपनि प्रशासनले सीमा क्षेत्रमै बसेका संस्थाका कर्मचारीको योजनामै उनीहरु भारत पुगेको रहस्य फेला पारेपछि यो क्षेत्रमा काम गर्ने अन्य संस्थाहरु समेत शंकाको घेरामा परेका हुन् ।

यसरी बेचिएका ती किशोरीहरुले नेपालकै बोर्डरमा भारतीय प्रहरीले रोकेर फर्काउँदा पनि नेपालतर्फ बसेका ती संस्थाका कर्मचारीले चोर बाटोबाट आफूलाई भारत जान सघाएको बताए । तर प्रशासनले त्यो संस्थाबारे थप अनुसन्धान गर्नका लागि तत्काल त्यसको नाम गोप्य राखिएको जनाएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने–‘उद्दार भएका किशोरीको भनाइमा ती संस्थाकै कर्मचारीको भूमिका प्रष्ट देखिएको छ, हामीले थप अनुसन्धान गर्दैछौं, यो क्षेत्रमा काम गर्ने सबै संस्थाका कागजपत्र मगाएर तत्काल अनुसन्धान गर्न निर्देशन दिइसकेको अवस्था छ’ उनले भने ।

आइतबार उद्दार भएका ५ किशोरी १५ देखि १८ वर्षका रहेका छन् । रुपन्देहीको सांस्कृतिक नगरपालिकाकी १८ वर्षीय मुस्लिम समुदायकी ती किशोरीले रुपन्देहीको कक्रहवा नाकामा रहेका संस्थाका कर्मचारीको सहयोगमा आफू भारत गएको र उता गएपछि मात्रै आफूलाई गलत ठाउँमा पुराइएको महशुस भएको बताइन् ।

‘म साथीसँगै राती १० बजे घरबाट हिंडेर १ बजे कक्रहवा नाका पुग्यौं, प्रहरीलाई ढाँटेर भारतमा घर भएको र जरुर काम भएर झुटो कुरा भनेर जान दिन अनुरोध गर्यौ, तर भारतीय प्रहरीले दिएन, राती आएर ती कर्मचारीको घरमा बस्यौं, पछि ती कर्मचारीले अर्कै ठाउँबाट जाने बाटो देखाइदिएपछि गएका हौं, भारत पुगेपछि बल्ल गलत ठाउँमा पुगेको जानकारी भयो’ उनले भनिन् ।

ती बालिकाका अनुसार घरमा आमाले आफूलाई माया नगरेका कारण कमाउन मन लागेर हिंडेकी हुन् । ‘बुवा विदेशमा हुनुहुन्छ, आमाले मलाई बोर्डिङ पढ्न दिनुभएन, साथीसँग सल्लाह गरेर गएकी हुँ, सीमामा पुलिससँग पनि झुटो बोलेको हुँ तर अहिले गल्ती गरेको महशुस भयो, अब राम्रोसँग पढ्छु र यतै काम गर्नुछ मलाई सहयोग आवश्यक छ ।’ उनले भनिन् ।

धनुषाकी १६ वर्षीय किशोरीले विवाह गरेर लगेका युवकले अलपत्र छाडेर गलत काममा लगाएको बताइन् । ‘मलाई विवाह गरेर लैजाने व्यक्ति उता गएपछि कहाँ गयो पत्तो भएन, अहिले यस्तो समस्यामा परेर आउनुपर्यो’ उनले भनिन् ।

आइतबार रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका दुईजना, धनुषाका २ जना र पर्साकी एकजना गरी पाँचजना किशोरीलाई नेपाल प्रहरीको समन्वयमा भारतको दिल्लीस्थित केआईएन भारतले उद्धार गरी रुपन्देही प्रशासनलाई जिम्मा लगाएको हो ।

१५ देखि १८ वर्ष उमेरका ती किशोरीहरुलाई विभिन्न लोभ तथा प्रलोभनमा पारेर भारतको विहारमा लगेर गलत कार्यमा लगाएको अवस्थामा उद्धार गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीको जिम्मा लगाइएको हो ।

उद्धार गरिएका किशोरीहरुलाई रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्वागत गर्दै आगामी दिनमा सचेत बन्न आग्रह गरे । प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिकाका दुई किशोरी गत फागुन २ गते राती लुम्बिनीस्थित कक्रहवा नाकाबाट भारत पुगेका थिए ।

घरपरिवारबाट भागेर हिंडेका किशोरीलाई भारतीय नागरिकले जागिर लगाइदिने बहानामा गलत कार्यका लागि प्रयोग गर्न थालेपछि उनीहरु भागेर प्रहरीकहाँ गएपछि केआईएन भारतले सम्पर्क गरी शनिवार नेपाल ल्याइएको हो ।

त्यस्तै धनुषाका दुई युवतीलाई गाउँकै व्यक्तिले जागिर लगाइदिने भन्दै विहार पुर्‍याएका थिए । पर्साकी युवतीलाई गाउँकै एक व्यक्तिले विवाह गरी भारत लगेर छोडिदिएका थिए । विवाहको नाटक गरी भारतको विहार पुर्‍याएका उनलाई पनि केआईएन भारतको पहलमा चार महिनापछि रुपन्देही ल्याइएको हो ।

उद्धार गरी रुपन्देही ल्याइएका पाँचैजना युवतीलाई अहिले जिल्ला प्रहरी कार्यालयको संरक्षणमा राखिएको र परिवारलाई सम्पर्क गरी जिम्मा लगाइने प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । प्रमुख जिल्ला अधिकारी अर्यालले प्रहरी प्रशासनले भारतीय सुरक्षाकर्मीसंगको समन्वयमा सीमा समन्वय समितिमार्फत सीमा अपराध तथा मानव बेचविखन विरुद्धका विभिन्न कार्यक्रम भइरहेपनि व्यक्ति स्वयं सचेत नबन्दा यस्ता घटना नरोकिएको बताए ।

केआईएन भारतका नेपाल संयोजक इन्द्रराज भट्टराईले पछिल्लो समय मानव बेचविखनको प्रकृति फेरिएको उल्लेख गर्दै कतिपय नेपाली चेलीहरुलाई भारत हुँदै श्रीलंका,ओमनलगायतका देशमा पठाउँछु भनेर समेत बेचविखनमा पार्ने गरेको बताए । ‘मायाप्रेम र जागिरको प्रलोभनबाट भारत पुराउने र बेचिने गरेको प्रमाण हामीले पाएका छौं, अहिले विभिन्न प्रविधिको प्रयोगबाट पनि यस्ता अपराधिक काम भइरहेका छन्’ उनले भने ।

‘दिल्लीको ५५, ५९ र ६३ नम्बरको नाम चलेको कोठीमा नेपाली चेलीलाई लगेर गलत काममा प्रयोग गरिन्छ भनेर हामीले प्रमाणिक रुपमा सार्वजनिक गरेका छौं, तर त्यो रोक्नसक्ने क्षमता हामीसँग भएन’ भट्टराईले भने–‘वर्षमा करिब २ सय महिला उद्दार भएको अवस्था छ, अहिले सिधै कोठीमा लैजाने तरिका फेरिएर अनेक योजना बनाएर दलालीहरुले फसाइरहेको अवस्था छ, अभिभावक र सरोकारवाला सबै सचेत हुन जरुरी छ ।’

रुपन्देहीको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले रोजगारी, आर्थिक अभाव र सचेतनाको कमीका कारण यसरी मानव बेचबिखन भइरहेको बताउँदै स्थानीय सरकारले त्यसमा समन्वय गरेर अगाडि जाने बताए । उनले कक्रहवा नाकामा सबैभन्दा बढी चेकजाँच हुने भएपनि ती किशोरी कसरी सेटिङमा पुर्‍याइए भन्ने विषय गम्भीर छानविनको विषय हुनुपर्ने बताए । ‘हामीलाई त्यति कडाई गर्ने नेपाल–भारतको सुरक्षा संयन्त्रले अवोध किशोरीलाई कसरी छाडियो रु मिलिभगत यस्ता गलत काम हुनसक्छन्, खुला सीमाले पनि यो समस्या पर्दैछ, सबैले विशेष ध्यान पुर्‍याऔं ।’ घिमिरेले भने ।

यी किशोरीको उद्दारमा समन्वय गरिरहेकी प्रहरी अधिकृत सबिता जिसी सेनले ंिहंसा र अपराध रोक्ने पाठ्यक्रम नै विद्यालय तहमा राख्नेगरी रुपन्देहीका स्थानीय सरकारसँग सम्झौता गरिने बताइन् । भारतमा बेचिने नेपाली महिलाहरुको उद्दार गर्ने संस्थामा लामो समयदेखि काम गर्दै आएका नविन जोशीले बिहारबाट यी किशोरी बेचिएको सूचना पाएको र नेपाल प्रहरी, परिवार तथा अन्य संघसंस्थाको सहकार्यमा उद्दार गरिएको बताए ।

मानव तस्करीको केन्द्र बन्दै रुपन्देहीको सीमा क्षेत्र

भारतसँग सीमा जोडिएको ६० किलोमिटर खुला सीमा छ रुपन्देहीमा । देशकै ठूलो भन्सार नाका रहेको सुनौलीबाहेक अन्य धेरै साना नाकाहरु पनि रहेका छन् । सबै तरिकाले भारत जाने मुख्य नाका सुनौली भएपनि कक्रहवा नाका पनि अहिले चर्चामा छ ।

भारतमा बेचिने चेलीहरु अहिले दलालले यो नाकाबाट पुर्‍याउन थालेको विभिन्न घटनाक्रमले देखाएको छ । चेलिबेटी बेचबिखनविरुद्ध काम गर्ने करिब १ दर्जन संस्थाहरुले सुनौलीमा डेस्क राखेर बसेका छन् तर उनीहरुको त्यो काम प्रभावकारी नदेखिएको जनप्रतिनिधि र सुरक्षा निकायका प्रतिनिधिहरुले नै प्रश्न गरेका छन् ।

त्यसमाथि अहिले उद्दार गरिएका किशोरीले ती संस्थाकै कर्मचारीको सल्लाहमा नाका छोडेर फरक बाटोबाट भारत पुगेको जनाएकाले अझै गम्भीर प्रश्न खडा गरेको हो । यो क्षेत्रमा रहेका सुनौली, महेशपुर, चाकरचौडा, कक्रहवा, कृष्णनगर नाकाबाट महिलाहरु बढी भारत पुर्‍याइएको तथ्यांक भेटिएको छ ।

पश्चिम क्षेत्रका चारचौडाबाट ट्रेन चढेर दिल्ली पन्जाब जाने गरेका छन् भने पूवी क्षेत्रका महेशपुरबाट जाने गरेका छन् । सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीका एसपी आनन्द थापाले यस्ता अपराधलाई कम गर्न बोर्डरमा चनाखो भएपनि अन्य खुला सीमा भएकाले सचेतनाको कामलाई विशेष ध्यान दिनुपर्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment