काठमाडौं, पर्वतको जलजलामा एक साताअघि दम्पती हत्या घटनाको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई खटाउने निर्णय गरेको छ । स्थानीय प्रहरीले अभियुक्तहरू पहिचान गर्न नसकेपछि मंगलबारदेखि सिआइबी टोली खटिन लागेको हो ।
जलजला गाउँपालिका– २ मल्लाजनिवासी ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया श्रीमती गमला जिसी गत २० चैतम घरमै मृत अवस्थामा भेटिएका थिए । घटनास्थलका आधारमा प्रहरीले उनीहरूको हत्या भएको निष्कर्ष निकालेको छ ।
पेसेवर आपराधिक समूहबाटै हत्या भएको आधार देखिएपछि सिआइबी खटाउने निर्णय गरिएको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताए । हत्यापछि सुन र नगदसमेत लुटिएको प्रहरीको भनाइ छ ।
एकान्तमा रहेको घरमा जिसीदम्पती मात्र बस्दै आएका थिए । उनीहरूका दुई छोरा वैदेशिक रोजगारीको क्रममा कोरियामा र अर्का एक छोरा म्याग्दीको बेनी बजारमा बस्दै आएका थिए । बेनी बजारमा पसल गरेर बस्ने जेठो छोरा रविन जिसीले घरमा बुबाआमालाई फोन गर्दा नउठेपछि छिमेकीलाई बुझ्न लगाउँदा उनीहरू मृत भेटिएका हुन् ।
कुनै समूहले योजना बनाएरै हत्या र लुटपाट गरेको प्रहरी आकलन छ । घटनाको अनुसन्धान जारी नै रहेको र सिआइबीले पनि अनुसन्धानमा सघाउन लागेको पर्वतका डिएसपी खुमलाल भुसाल बताउँछन् ।