काठमाडौं । काठमाडौंको तारकेश्वर–११ हिलेटोलमा खाजाघरको आवरणमा कोठी चलाउने युवती पक्राउ परेकी छिन् । बर्दिया घर भएकी २६ वर्षिया मुनु गुरुङलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।
उनले पश्चिम युना खाजाघर सञ्चालन गरी त्यहाँ युवतीहरुलाई राखी वेश्यावृत्तिमा लगाउँदै आएकी थिइन् । उनको सो अखडाबाट सात जना युवती र दुई बालिकालाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।
ग्रामिण क्षेत्रका बालबालिकालाई जागिर दिने भन्दै काठमाडौं ल्याएर उनले यसरी वेश्यावृत्तिमा लगाउँदै आएको प्रहरीले जनाएको छ ।
अभियुक्तले आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढे लेखेका नाबालिकाहरुलाई खाजा घरमा वेट्रेसको रुपमा काम लगाइदिने भनी बोलाउने गरेको,
सुरुमा बालिकाहरुलाई वेटरको काममा लगाउने र केही समयपछि ललाई फकाई प्रलोभनमा पारी निज अभियुक्तले नै संचालन गर्ने पश्चिम युना खाजा घरमा राखि वेश्यावृत्तिमा लगाउने गरेको,
नाबालिकाहरुलाई बिभिन्न प्रलोभनमा पारी धाकधम्की समेत दिई ग्राहकहरुसँग रकम लिई शारिरीक सम्पर्क राख्न लगाई सीमित रकम मात्र पीडित युवती तथा नाबालिकाहरूलाई दिई आर्थिक लाभ लिने गरेको,
नाबालिकाहरुलाई ग्राहकहरुले बोलाएको अन्य गेष्ट हाउस तथा होटलहरुमा समेत जान बाध्य पारी बेश्याबृतिमा लगाउने गरेको खुल्न आएको, अभियुक्तद्धारा संचालित खाजा घरका कोठाहरु खानतलासी गर्दा परिवार नियोजनका अस्थायी साधन (कण्डम) समेत बरामद भएको,
यस घटनामा संलग्न अन्य प्रतिवादीहरुको खोजतलास तथा अन्य थप अनुसन्धान कार्य भई रहेको ।