विदेश पठाउने एजेन्टलाई अपहरण गरी बाँधेर कुटपिटको घटना सार्वजनिक, दुई जना पक्राउ -
Comments Add Comment

विदेश पठाउने एजेन्टलाई अपहरण गरी बाँधेर कुटपिटको घटना सार्वजनिक, दुई जना पक्राउ

सिरहामा विदेश पठाउन एजेन्टको काम गर्ने सप्तरीका एक व्यक्तिलाई अपहरण गरी बाँधेर कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।

अपहरण तथा कुटपिट आरोपमा ईलाका प्रहरी कार्यालय मिर्चैयाले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका ३ का सिरिया यादव र उनका छोरा रुपेश यादव छन् ।

सप्तरीको सुरुङ्गा नगरपालिका १० थलहाका ईश्वरदेव मुखियालाई अपहरण गरी कुटपिट गरेको आरोपमा सिरिया र उनका छोरा रुपेशलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार मुखिया विदेश पठाउने एजेन्टको काम गर्छन् । विदेश जान रकम दिएको र फिर्ता नगरेको भन्दै उनलाई सिरियाले छोरा रुपेशको सहयोगमा अपहरण गरी कुटपिट गरेका हुन्।

पक्राउ परेका बाबु–छोरामाथि पीडित मुखियाले अपहरण तथा शरीर बन्धक शीर्षकमा शनिवार नै प्रहरीमा जाहेरी दिएका छन् । डीएसपी बस्नेतले आज मुद्दा दर्ता हुने बताए ।

यसरी गरियो अपहरण र कुटपिट

वैशाख ६ गते शुक्रवार मुखिया मिर्चैया नगरपालिका १२ सिक्रोन गएका थिए । उनी ससुराली आएको सुइँको सिरियाले पाएका थिए ।

सिरियाले उनलाई अपहरणको योजना बनाए । छोरा रुपेशलाई मोटरसाइकलमा लिएर मुखियालाई अपहरण गर्न सिक्रोन पुगे । मुखिया भेटेलगत्तै बाइकमा राखे र आफ्नो घर ल्याए ।

मुखियालाई घरमा बाँधेर सिरिया र उनका छोरा रुपेशले निर्ममता पूर्वक कुटपिट गरे । त्यसपछि घरबाट बाहिर निकाले । र, बाहिर स्थानीयको भीडबीच कुटपिट गरे, जुन भिडिओ सामाजिक संजालमा पनि सार्वजनिक भएको छ ।

मरनासन्न हुनेगरी कुटपिट गरेर सिरियाले छोरा रुपेशकै सहयोगमा मुखियालाई मोटरसाइकलमा राखेर प्रहरीमा बुझाइदिन्छ भनेर ईलाका प्रहरी कार्यालय मिर्चैया पुगेका थिए । कुटिएका मुखिया होसमा थिएनन् ।

मिर्चैया प्रहरीले सोधपुछ गर्दा पीडितले आफूलाई अपहरण गरी बाँधेर कुटपिट गरेको पीडा पोखे । त्यतिबेला नै प्रहरीले सिरिया र उनका छोरा मनोजलाई नियन्त्रणमा लिए । र, मुखिया प्रहरी कार्यालयबाट अपरणमुक्त भए ।

विदेश (खाडी मुलुक) पठाइदिनु भनेर रुपेश र उनकै गाउँका मनोज यादवले मुखियालाई ५०/५० हजार रुपैयाँ दिएका थिए । तर केहि दिनपछि अब विदेश नजाने भन्दै दुबैजना रुपैयाँ फिर्ता माग्न थाले ।

मुखियाले मनोजको बैंक खातामा ६० हजार र रुपेशको बैंक खातामा ४० हजार फिर्ता गरे । रुपेशले १० हजार रुपैयाँ मनोजबाट लिन भनेका थिए । तर पछि उनीहरु दुबैजना मुखियासँग ब्याज माग्न थाले ।

मुखियाका एक आफन्तले भने, ‘पैसा फिर्ता गरिसकेको छ । तर ब्याज दिनुपर्छ भनेर रुपेश र उनका बुवा सिरियाले लफडा गरे । उनीहरु अपराधी चरित्रका व्यक्ति हुन् । हामीलाई पटक पटक अनेक धम्की दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै