काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जापान पठाउने भन्दै २१९ जनाबाट २ करोड ६८ लाख ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी ७ घर भई काठमाडौंको कागेश्वरी मनहरा बस्ने राजन श्रेष्ठ र झापाको गौरादहका ईश्वरी पाण्डे छन् ।

राजन श्रेष्ठलाई कागेश्वरी मनोहरा नगरपालिका स्थित बेशिगाउँ र पाण्डेलाई अनामनगरबाट पक्राउ गरिएको एसएसपी सानुराम भट्टराईले बताए । उनीहरुले २ सय १९ जनाबाट ३ करोड ३७ लाख असुल गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

अर्काको नागरिकता प्रयोग गरेर उनीहरुले पुतलीसडकमा नियोनी एजुकेशन प्रालि नामको कन्सल्टेन्सी खोलेका थिए । राजन श्रेष्ठले नारायणबहादुर राईको नागरिकता दुरुपयोग गरेर सानिमा बैंकमा खाता खोलेको भेटिएको छ । उदयपुरका राईको नागरिकता दुरुपयोग गरेर श्रेष्ठले बैंकको केवाइसी फारममा चाहिँ आफ्नो फोटो टाँसेको प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बताए ।

उनीहरूले कन्सल्टेन्सी सञ्चालन गरेर विभिन्न व्यक्तिलाई जापान पठाउने प्रलोभनमा ठगी गरेको प्रहरीले जनाएको छ । उनीहरूले जापान पठाइदिने भन्दै २ सय बढी व्यक्तिबाट करिब ३ करोड ठगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

नारायणबहादुर राईको नागरिकता दुरुपयोग गरी उनीहरूले नियोनी एजुकेशन कन्सल्टेन्सी दर्ता गरेर ठगी गर्दै आएका थिए । उनीहरूले नारायण बहादुर राई र पर्वराज पाण्डेको नाममा कन्सलटेन्सी चलाउँदै आएका थिए ।