काभ्रेपलाञ्चोक । जंगलमा डढेलो लगाएको आरोपमा पाँचजना पक्राउ परेका छन् । डढेलो लगाएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।

पाँचखाल नगरपालिका–५ स्थित रातमाटे सामुदायिक जंगलमा डढेलो लगाएको आरोपमा मण्डनदेउपुर नगरपालिका–११ का ३१ वर्षीय मैते तामाङ, २५ वर्षीय विकास भुजेल र सविन सुनार, नमोबुद्ध नगरपालिका–१ स्थित कासकोट सामुदायिक जंगलमा डढेलो लगाएको आरोपमा ८० वर्षीय आइतीमाया तामाङ र चौँरीदेउराली गाउँपालिका–६ स्थित आरुबोट सामुदायिक जंगलमा डढेलो लगाएको आशंकामा सोही वडाका ४९ वर्षीय लालकुमार सेन ठकुरीलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका पाँचमध्ये नमोबुद्ध–१ का तामाङलाई हिरासतमुक्त गरिएको र अरूविरुद्ध मुद्दा चलाइएको उनले बताए ।

डढेलो मानवबस्तीमा पस्दा रोसी, महाभारत र खानीखोला गाउँपालिकाका विभिन्न ठाउँमा धनमालको क्षति भएको छ । रोसी गाउँपालिका–४, सानोपोटा गाउँका १५ घर नष्ट हुँदा दुई करोड २६ लाख ३० हजार रुपैयाँबराबरको क्षति भएको थियो ।