काठमाडौँ । सामाजिक सञ्जाल फेसवुक, ह्वाट्स एस र इन्स्टाग्राममार्फत साथी बनेर रकम ठगेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध घर भएर काठमाडौँ बस्ने ३१ वर्षीय सुदिप प्याकुरेल, सोलुखुम्बु घर भएका ३० वर्षीय संजय बस्नेत, नुवाकोट घर भएका १९ वर्षीय छेवाङ लामा र सिन्धुपाल्चोक घर भएका २१ वर्षीय करण तामाङ गोले छन् ।

आरोपीहरूले पीडितहरूलाई प्रलोभनमा पारेर पार्सल र अनलाइनमा लगानी गरेमा दोब्बर हुन्छ भनेर रकम ठगेको हुन् । उनीहरुले अनधिकृत रूपमा इसेवा आइडीमा समेत पहुँच राखेर बैंक खाता र वालेटबाट १६ लाख ५९ हजार ट्रान्सफर गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए ।

बायनान्स एपमार्फत संजय बस्नेत र करण तामाङ गोलेले १० करोड ९५ लाख ४२ हजार रुपैयाँ कारोबार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।