१७ असार, काठमाडौ । सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि समिति गठन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुरानै सदस्यसहितको नयाँ समिति गठन गरेको हो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिमा अन्य सदस्यहरुमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र व्यवस्थापनका प्राध्यापक उदय निरौला रहेका छन्।
मन्त्रिपरिषद्ले पुरानै सिफारिस समितिलाई पुनः जिम्मेवारी दिएको हो । यसअघि २१ पुस २०८० मा तत्कालीन अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि माघ ४ गते श्रेष्ठको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो । सो समितिले कार्यविधि तयार गरेर १६ फागुनमा आवेदन माग गरेको थियो ।
सोही मागको आधारमा फागुन ३० सम्ममा १९ जना आवेदकहरूले धितोपत्र बोर्डको अध्यक्षको लागि आवेदन दिएका थिए । समितिले कार्यविधिअनुसार चैत २५ गते पाँच जनाको नाम सर्टलिस्ट गरेको थियो । समितिले सर्ट लिस्टमा परेकाहरुलाई अन्तर्वार्ता र कार्य योजना प्रस्तुतीकरणको लागि बोलाएकोमा ३ जना भने २ पटकसम्म बोलाउँदा पनि सहभागी भएनन् । त्यसपछि नियुक्तीको प्रक्रिया रद्द गरिएको थियो ।
अब नयाँ सिफारिस समितिले अध्यक्षका लागि फेरी आवेदन माग गर्ने छ।