१९ असार , काठमाडौ । गत वर्षको माध्यमिक शिक्षा परीक्षामा सम्मिलित भएका चन्द्रागिरि नगरका ५६ मध्ये ११ वटा विद्यालयका परीक्षार्थीहरू शतप्रतिशत उत्तीर्ण भएका छन् ।
जसमा १० वटा संस्थागत र १ सामुदायिक विद्यालय छन् । सामुदायिकतर्फ बलम्बु माविका सबै परिक्षार्थी उत्तीर्ण भएका छन् । यस विद्यालयका ८९ जना विद्यार्थी परीक्षामा सम्मिलित थिए ।
प्राप्त विवरण अनुसार चन्द्रागिरि नगरको बालतारा प्रतिष्ठान र मोडल स्कुल, थानकोटका समान १-१ जना परीक्षार्थीले सबैभन्दा धेरै ३.९६ ग्रेड प्राप्त गरेका छन् । दुवै विद्यालय संस्थागत विद्यालय हुन् ।
यसैगरी सामुदायिकतर्फ बलम्बु माविका तीन जना विद्यार्थीले समान ३.९५ ग्रेड प्राप्त गरेका छन् । सामुदायिकतर्फ चन्द्रागिरि नगरका १६ मध्ये १० वटा विद्यालयका कुनै न कुनै विद्यार्थीले ए प्लस ग्रेड ल्याएका छन् ।
जसमा बलम्बु माविका ३४, मंगलोदय माविका १७, कंकाली माविका १५, विद्यामन्दिर माविका ६, प्रभात माविका २ जनाले ए प्लस ग्रेड पाउँदा जनविकास मावि, भीम मावि, मंगल मावि, कृष्ण मावि र चुनदेवी माविका समान १-१ जनाले ए प्लस ग्रेड पाएका छन् ।
थानकोट टाइम्सलाई प्राप्त विवरण अनुसार चन्द्रागिरि नगरबाट गत चैत्र महिनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षामा सामुदायिक विद्यालयबाट सहभागी भएका कूल ७४४ जना विद्यार्थीहरू मध्ये २०२ जना अनुतीर्ण भएका छन् ।
नगरका सामुदायिक विद्यालयका ७७ जना परीक्षार्थीले ए प्लस, १५४ जनाले ए, १८५ जनाले बी प्लस, १२० जनाले बी र ६ जनाले सी प्लस ग्रेड पाएका छन् । सामुदायिकतर्फ कूल ५४२ जना परीक्षार्थी उतीर्ण भएको चन्द्रागिरि नगरका वरिष्ठ शिक्षा अधिकृत बुद्धि प्रसाद भट्टले जानकारी दिनुभयो ।
यसैगरी संस्थागत विद्यालयतर्फ माध्यमिक शिक्षा परीक्षामा सम्मिलित १ हजार २ सय १२ जना परीक्षार्थीहरू मध्ये २७० जनाले ए प्लस, ५८० जनाले ए, २५० जनाले बी प्लस र २२ जनाले बी र १ जनाले सी प्लस ग्रेड पाएका छन् ।
चन्द्रागिरि नगरका ४० वटा संस्थागत विद्यालयले माध्यमिक शिक्षा परीक्षामा परीक्षार्थी सम्मिलित गराएकामा १० वटा विद्यालयले मात्रै शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएका छन् ।
चन्द्रागिरि नगरबाट ३.६ वा सो भन्दा धेरै जीपीए प्राप्त गर्ने विद्यालयहरूमा क्रमश ब्राइट फ्यूचरबाट ४६ जना, बलम्बु मावि ३३ जना, रिब्स मावि २८, एआइ मावि २५, मंगलोदय मावि १७ जना, पश्चिम बिन्दु मावि र कंकाली मावि समान १५-१५ जना, जेसिस मावि र बाल तारा प्रतिष्ठानबाट समान १४-१४ जना छन् ।
यसैगरी न्यू होराइजन एकेडेमी र थानकोट इन्ग्लिस स्कुलबाट समान १२-१२ जना परीक्षार्थीले ३.६ भन्दा बढी जीपीए ल्याउँदा रिचा सहशिक्षालय र ब्राइट एन्जलस् का ११-११ विद्यार्थीले पनि सो सफलता प्राप्त गरेका छन् ।