२२ असार , काठमाडौ । शुक्रबार रातिबाट परेको अविरल वर्षापछि आएको पहिरोको कारण हेटौंडाबाट काठमाडौं जोडने छोटा मार्गहरु बन्द भएका छ्न् ।
प्रहरीको अनुसार अविरल वर्षापछि आएको पहिरोको कारण हेटौंडा-सिस्नेरी-दक्षिणकाली सडक, कान्तिलोकपथ, हेटौंडा चखेल-मातातिर्थ सडक बन्द भएको हो ।
दक्षिणकाली सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर २ छेपारेमा वर्षाको कारण सडक माथिबाट पहिरो आई बाटो पुर्णरुपमा अवरुद्ध भएको छ । यस्तै सिस्नेरी सडकखण्डको विभिन्न स्थानमा पहिरो खस्दा बाटो अवरुद्ध छ ।
यसैगरी मकवानपुरको इन्द्रसरोवर–५ महालक्ष्मी खोला नजिक पहिरो खस्दा मातातीर्थ, चखेल सडक खण्ड अवरुद्ध भएको छ । अहिलेपनि वर्षा भइरहेकोले सडख खुलाउन सकिएको छैन ।
त्यसैगरी कान्तिलोकपथ अन्तरगत मकवानपुर तथा ललितपुरको विभिन्न स्थानमा पहिरो जादा सडक अवरुद्ध भएको प्रहरीको भनाई छ ।