४ श्रावन, काठमाडौ । श्रीलंकाको डम्बुलामा जारी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले जित हासिल गरेको छ ।
नवौँ संस्करणको एसिया कप टी–२० महिला क्रिकेटको पहिलो खेलमा युएईमाथि नेपालले ऐतिहासिक जित निकालेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १६.१ ओभरमा केवल चार विकेट गुमाएर एक सय १८ रन बनाउँदै विजय लक्ष्य पार गर्यो । नेपाललाई महत्वपूर्ण जित दिलाउन बलिङतर्फ कप्तान इन्दू बर्मा र ब्याटिङतर्फ सम्झना खड्काले महत्वपूर्ण योगदान गरे ।
इन्दूले तीन विकेट लिइन् भने सम्झनाले उत्कृष्ट अर्धशतकीय पाली खेलिन् । अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो अर्धशतक प्रहार गर्ने क्रममा सम्झनाले अविजित ७२ रन बनाइन् ।
नेपालको लागि सीता मगरले ७, रुविना क्षेत्रीले १०, कप्तान इन्दु बर्माले ६,पूजा महतोले ७ र कविता कुँवरले २ रन बनाए । समूह ‘ए’मा आजै राति भारत र पाकिस्तान भिड्दैछन् ।
बलिङतर्फ कप्तान बर्माले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिएकी थिइन् । शवनम राई र कृतिका मरासिनीले १र१ विकेट लिए । यूएईका लागि खुशी शर्माले सर्वाधिक ३६ बनाइन् ।






