१२ साउन , काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधान संशोधनको नाममा अर्कै खेलोमेलो भइरहेको बताएका छन् ।
पुष्पलालको जन्म शताब्दीको अवसर आयोजित प्रवचन गोष्ठीमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले संविधान संशोधन आवश्यक रहेको र त्यसका लागि व्यापक छलफल र बहस हुनुपर्ने कुरामा जोड दिए। अध्यक्ष नेपालले भने, ‘संविधान संशोधनका लागि बहस र छलफल हुनुपर्ने तर यहाँ गुपचुपमा संविधान संशोधन गर्ने कार्य हुन गइरहेको छ। त्यसको आवश्यक किन पर्यो ?
अध्यक्ष नेपालले संविधान संशोधन नभई त्यसको नाममा अर्कै खेलोमेलो हुन लागेको आशङ्का समेत व्यक्त गरे ।
लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने कुनै प्रकारको षड्यन्त्र नहोस् भनी सचेत गराउँदै उनले नेपाली जनताले सुशासन र देशलाई समृद्ध बनाउन चाहेको र यसको लागि बहस हुनु आवश्यक रहेको बताए ।
नेपाली समाजको चरित्र अझै पनि अर्धसमान्तवादी रहेको बताउँदै नेपालले नेपाली समाजवादका बारेमा चर्चा गर्नु आवश्यक रहेको बताए ।




