काठमाडौं : प्रहरी नायब महानिरीक्षक (डीआईजी) कृष्णहरि शर्माले बागमती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् । गृह मन्त्रीस्तरको निर्णयानुसार उपत्यका प्रहरी कार्यालय काठमाडौंबाट डीआईजी कृष्णहरि शर्माको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा सरुवा भएको थियो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा पदभार ग्रहण पश्चात वहाँले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु हुँदै प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई कानूनको परिधिमा रहेर आ-आफ्नो पदीय जिम्वेवारी वहन गरी समाजमा शान्तिसुरक्षा कायम राख्न अहोरात्र खटिई जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भयो ।

निर्देशनको क्रममा डीआईजी शर्माले तस्करी नियन्त्रण गर्ने, पिडितलाई प्राथमिकतामा राखी प्रदेशको शान्ति सुरक्षा कायम गर्ने, वस्तुनिष्ट अपराध अनुसन्धान गर्ने, विगतदेखि पेण्डिङमा रहेका मुद्धाहरुको अनुसन्धान गर्ने, फरार अपराधी पक्राउ गर्ने, प्रहरी कर्मचारीको मनोवलमा बृद्धि गरी कार्यमा लगाउन उत्प्रेरणाका क्रियाकलाप संचालन गर्ने लगायतको विषयहरु आफ्नो प्रमुख प्राथमिकताका क्षेत्रहरु भएको हुँदा सोही अनुसार कार्यसम्पादन गर्न गराउन हुन कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिएका छन् ।

पदभार ग्रहण पश्चात प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बागमती प्रदेश प्रहरीको अवस्था तथा समग्र कार्यसंचालन बारेमा संक्षिप्त प्रस्तुतीकरण दिएका थिए ।