
२२ असोज , काठमाडौ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डिआईजी भरत बहादुर बोहराले ट्राफिक प्रहरीलाई चाडपर्वको सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
डिआईजी बोहराले उपत्यकाभरका ट्राफिक प्रहरी कर्मचारीहरुलाई अनुशासन, शिष्टाचार र सेवाभावका साथ ट्राफिक व्यवस्थापनमा खटिन आदेश दिएका हुन्। ट्राफिक नियमको पालना र सवारी दुर्घटनाको न्युनिकरणमा भूमिका खेल्न उनले जिम्मेवारीपूर्वक सडकमा खटिन निर्देशन दिए।
आगामी विजया दशमी तथा तिहारलाई मध्यनजर गर्दै सवारी चाप र सम्भावित जोखिमलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीलाई विशेष तयारीका साथ काम गर्न आग्रह गरे। साथै, उनले सबै ट्राफिक प्रहरीलाई विजया दशमीको शुभकामना समेत व्यक्त गरे ।
यो निर्देशनले उपत्यकामा चाडपर्वका समयमा सवारी व्यवस्थापनलाई सहज बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।