हेटाैँडा । मकवानपुर प्रहरीले हेटौँडा सिमेन्ट उद्योगबाट तार चोरी अभियोगमा तीन जनासहित चोरीका अन्य घटनामा संलग्न ८ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
हेटौँडा सिमेन्टबाट तार चोरी गर्ने तीन, हेटौँडा– ८ मा निर्माणाधिन घरबाट तार चोरी गर्ने दुई, हेटौँडा ८ र २ बाट मोटरसाइकल, म्युजिक सिस्टम र नगद चोरी गर्ने एक र लेनडाँडाबाट ३७ किलो सेतो धातुको बिजुलीको तार चोरी गर्ने दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार हेटौँडा सिमेन्ट उद्योग परिसरबाट तामाको तार चोरीमा संलग्न भएकामध्ये हेटौँडा– १२ का मनिराज थोकर, हेटौँडा– १३ का सन्तबहादुर तितुङ र भारतको मोतिहारीका दिलखुशकुमार साहलाई पक्राउ गरिहेको हो।
सातजनाको समूहमा आएका व्यक्तिहरुले असोज २३ गते राति हेटौँडा सिमेन्ट उद्योगको पश्चिमतर्फको रोपवेदेखि क्रसरसम्म जाने ६ इन्च र ४ इन्चको बिजुलीको तामाको तार चोरी गरेका थिए। चोरीमा संलग्न रहेका अन्यको खोजी भइरहेको प्रहरी प्रमुख खड्काले बताए। चोरीमा संलग्न भनिएका थोकर र तितुङले उक्त तार हेटौँडा– ४ वनविज्ञान नजिकै कवाडीमा बिक्रि गरेका बताइएको छ। सोहि क्रममा कवाडी सञ्चालक दिलखुशकुमारसहित थोकर र तितुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यसैगरी प्रहरीले हेटौँडा ८ कमानेमा रहेको कर्णावती मार्गस्थित शिव गौतमको निर्माणाधिन घरबाट बिजुलीको तार चोरी गरेको भन्दै स्थानीय २८ वर्षीय सुमन राई र २५ वर्षीय समिर घिमिरेलाई पक्राउ गरेको छ।
यसैगरी हेटौँडा ८ मा रहेको हेटौँडा फन भिल्लाबाट साउण्ड सिस्टम १ थान र नगद २० हजार नगद तथा हेटौँडा २ शान्तिटोलबाट राजेश थापा क्षेत्रीको ना ३ प ४७३ नम्बरको यामाहा कम्पनीको मोटरसाइकल चोरी गरेको अभियोगमा हेटौँडा ८ कमानेका २४ वर्षीय सुशान्त श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ शिखरकटेरीस्थित कान्ति लोकपथ सडक खण्डबाट ३७ किलो सेतो धातुको तारसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा फाष्ट ट्रयाकमा वेल्डिङको काम गर्ने कन्चनपुरको बेलडी ३ का २४ वर्षीय राजेश्वर चौधरी र राहुल चौधरी रहेका छन्।
उनीहरुलाई प्रहरीले लेनडाँडाबाट हेटौँडातर्फ आउँदै गर्दा प्रदेश २–०१–००३ प ६१०५ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो। चोरीका घटनामा संलग्न आठैजनालाई जिल्ला प्रहरी कार्यलय मकवानपुरमा राखी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरी प्रमुख खड्काले जानकारी दिए।