Comments Add Comment

Advertisment

SKIP THIS

मकवानपुर प्रहरीले छुट्टाछुट्टै दुई स्थानबाट अवैध लागुऔषधसहित पाँचजनालाई पक्राउ

मकवानपुर प्रहरीले जिल्लाको छुट्टाछुट्टै दुई स्थानबाट अवैध लागुऔषधसहित पाँचजनालाई पक्राउ गरेको छ । प्रहरीले ११ ग्राम खैरो हिरोइनसहित तीनजना र ६ सय एम्पुल डाइजेपामसहित दुईजनालाई पक्राउ गरेको हो। प्रहरीले हेटौँडा उपमहानगरपालिका – १३ का २३ वर्षीय अरुण नेपालीलाई हेटौँडा– १ चौकीटोलबाट सात ग्राम लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी चौकीटोल हेटौँडाको टोलीले नेपालीको कोठा खानतलासी गर्दा खैरो हिरोइन फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यस्तै, प्रहरीले हेटौँडा उपमहानगरपालिका – ११ नमुना टोलका २३ वर्षीय सुजन गुरुङ र वडा नम्बर १० का ३३ वर्षीय अजय गहतराजलाई चार ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको छ ।

लागुऔषध खैरो हिरोइनसहित पक्राउ परेका नेपाली, गुरुङ र गहतराजलाई जिल्ला अदालत मकवानपुरबाट पाँच दिनको म्याद अनुमति लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

यसैगरी प्रहरीले ६ सय एम्पुल लागुऔषध डाइजेपामसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको एकथापा गाउँपालिका– ६ का ३५ वर्षीय दीपेश श्रेष्ठ र पर्साको पोखरीया नगरपालिका– ६ बस्ने २४ वर्षका लालबाबु पासवान रहेका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा– १५ रातोमाटेमा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बा.५४प ६५९८ नम्बरको स्कुटर चेकिङको क्रममा लागुऔषध फेला परेको हो । स्कुटरभित्र फल्स बटम बनाएर लुकाई ल्याएको अवस्थाको फेनार्गन दुई सय एम्पुल, नुर्फिन दुई सय एम्पुल र डाइजेपाम दुई सय एम्पुल गरी ६ सय एम्पुल लागुऔषध फेला परेका प्रवक्ता अर्यालले बताए ।

दीपेश र लालबाबु दुवैलाई जिल्ला अदालत मकवानपुरबाट पाँच दिनको म्याद अनुमति लिएर थप अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै