Comments Add Comment

Advertisment

SKIP THIS

नापी कार्यालयको त्रुटिः जग्गा एउटाको : पुर्जा अर्कैको

२४ फागुन , काठमाडौ । जग्गा एउटाको नाममा छ, भोगचलन अर्कैले गरिरहेको छ । यही कारण अहिले दाङको एउटा गाउँ निकै तनावमा छ । तुलसीपुर उपमहानगरपालिका–१९ को भित्री स्यालापानी र बाहिरी स्यालापानीका ४० घरजति नागरिकको जग्गामा नापी कार्यालयले त्रुटि गर्दा समस्या भएको छ । घर र जग्गा भोगचलन गरिहेको एउटाले हुन्छ, तर अर्कैका नाममा पुर्जा हुँदा त्यसले गाउँलाई निकै समस्या गराउने गरेको छ ।

स्थानीयवासी सङ्गीता बस्नेत परिवारको १६ कठ्ठा चार धुर जग्गा नाममा छ । तर, उनीहरुले अहिले चार कठ्ठामात्रै भोगचलन गर्दै आएका छन् । किनकि उनीहरुका नाममा जग्गा भए पनि त्यो जग्गा अर्कैले भोग गर्दै आएका छन् । त्यस्तै, दरिभान घर्तीको परिवारले विसं २०१६ मा त्यस स्थानमा जग्गा किनेर घरबाससमेत बनाएको थियो । तर, उनीहरुले किनेको र बनाएको घर अहिले अर्कैको नाममा छ । त्यतिमात्रै होइन, त्यही ठाउँका दुर्गाकुमारी बस्नेतको परिवारले पनि त्यहाँ जग्गा किन्यो । उनीहरुले खेत भनेर जग्गा किने तर, नापी गर्दा सिँचाइको सुविधासमेत नभएको पाखो जग्गा परेको रहेछ । अहिले त्यही पाखो जग्गा उनीहरुले भोगचालन गर्दै आएका छन् ।

यसले पछिल्ला सन्तानलाई निकै समस्या पर्ने भन्दै यो समस्या तत्काल समाधान गर्नतर्फ सबैले ध्यान दिनुपर्नेसमेत स्थानीयवासीको भनाइ छ । नापी कार्यालय तुलसीपुरमा भने यस विषयमा समस्या लिएर स्थानीयवासी नआएका कार्यालय प्रमुख गणेशमान विश्वकर्माले बताए । “म आएदेखि अहिलेसम्म कार्यालयमा कसैले पनि समस्या लिएर आउनुभएको छैन”, उनले भने, “यस विषयमा स्थानीय सरकारले चासो दिनुपर्छ, त्यहाँका स्थानीयवासी पनि एकापसमा मिलेर आएमा सहज हुने देखिन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment