काठमाडौँ: लागुऔषध कारोबारको ट्रान्जिट प्वाईन्ट बन्दै आएको मकवानपुर जिल्लामा लागुऔषध कारोबारीको संजाल तोड्न बिशेष अभियान चलाएको छ। एसपी विश्वराज खड्काले जिल्लाको कमाण्ड सम्हालेसँगै लागुऔषध कारोबारी विरुद्ध आक्रमणका रुपमा बिशेष अभियान चलाएपछि कारोबारीहरु धमाधम प्रहरीको फन्दामा परेका हुन्।
लागुऔषध कारोबारीहरु अहिले प्रहरीको निशानामा परेका छन्। प्रहरीले नेपालबाट चरेश, अफिम, गाँजा भारत पठाउने र भारतबाट प्रतिबन्धित औषधिहरु नेपाल ल्याउने कारोबारीहरुलाई पक्राउ अभियानले सफलता पाउदै गएको छ।
मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैंसे चेकप्वाईन्टबाट अवैध लागूऔषध गाँजा १ सय ६० किलोग्रामसहित गोरखा घर भएका २८ वर्षीय अमिर मियालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ जाँदै गरेको प्र.३-०१-०२३ च ८०४७ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी बोलेरो चालक अमिरलाई पक्राउ गरेको हो ।
पछिल्लो एक महिनाको अवधिमा स्पास्मो, नाईट्रोसन लगायतका लागुऔषधसहित आधा दर्जन ब्यक्तिहरु समेत पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरी उपरिक्षक (एसपी) विश्वराज खड्काले लागुऔषध विरुद्ध प्रहरीले अभियान नै चलाएको बताए। ‘लागुओषध कारोबारीहरुको संजाल तोड्न हामीले आक्रमक रुपमा अभियान चलाएका छौ, त्यसबाट केही सफलता समेत मिलेको छ’ उनले भने।
‘हामीले लागुऔषधबारे सुक्ष्म अध्ययन र अनुसन्धान गर्यौ, अवस्था गम्भीर देखियो, त्यसैले सबै ढंगबाट नियन्त्रणमा लाग्यौ’ उनले भने। बढ्दो लागुऔषध सेवनकर्ताले गर्दा यसको नियन्त्रण्मा चुनौती थपिएको उनले बताए।