
काठमाडौं । सप्तरी प्रहरीले पछिल्लो तीन महिनामा १९२ फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार पत्रकार सम्मेलन गर्दै गत असोज १७ देखि यही पुस २२ गतेसम्मको प्रगति विवरण सार्वजनिक गर्ने क्रममा फरार प्रतिवादी १९२ जना पक्राउ परेको जानकारी दिएको हो ।
फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएका उनीहरूबाट ३३ वर्ष ११ महिना सात दिन कैद तथा रु. पाँच लाख ९९ हजार जरिवाना भुक्तान गराउन अदालतलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
यसैगरी, १२१ जनाको म्याद थप गरी अनुसन्धान अघि बढाइएको उनले बताए । यस अवधिमा भन्सार छली गरी ल्याउँदै गरेको रु. ७० लाख ७२ हजारबराबरको समान तथा उक्त कार्यमा संलग्न आठजनालाई भन्सार कार्यालयमा बुझाइएको छ ।
यसैगरी, सो अवधिमा प्रहरीले दुई टन ६४ किलो गाँजा बरामद गर्नुका साथै सातजनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक खतिवडाले बताए । यस्तै, लागुऔषध कारोबारमा संलग्न तीनजनालाई समेत पक्राउ गरिएको छ ।
यस अवधिमा १८५ सवारीसाधन दुर्घटना भएकामा सातजनाको मृत्यु तथा ३८४ जना घाइते भएका प्रहरीले जनाएको छ ।