काठमाडौँ: जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले एक महिनामा एक करोड ६ लाख २० हजार चार सय ७० रुपैयाँबराबरको भन्सार छलीका सामान बरामद गरी भन्सार कार्यालयमा पठाएको छ। प्रहरीले चैत महिनामा मात्रै एक करोड ६ लाख २० हजार चार सय ७० रुपैयाँको सामान नियन्त्रणमा लिएको कपिलवस्तु जिल्लाका प्रहरी प्रमुख निरञ्जन दत्त भट्टले बताए ।
जिल्लामा भइरहेका विभिन्न अपराधिक घटना, अबैध चोरी, निकासी, तस्करी लगायतका घटनामा कमी ल्याउन कपिलवस्तु प्रहरीले सुरक्षाव्यवस्था निकै कडा बनाएको एसपी भट्टले बताउनुभयो । अपराधी तथा चोर, तस्करलाई कुनै पनि हालतमा नछाड्ने चेतावनी दिनुभएको छ ।
चैतमा १२२ जना फरार प्रतिवादी पक्राउ
प्रहरीले चैतमा १२२ जना फरार अभियुक्तलाई पक्राउ गरेको बताएको छ। प्रहरी कार्यालयले विभिन्न अपराध गरेर फरार रहेका १२२ अभियुक्तलाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको जनाएको छ। पक्राउ परेका फरार प्रतिवादीहरूबाट ५८ वर्ष तीन महिना २ दिन कैद र चार लाख ७ हजार ६८२ जरिवाना असुलउपर गरिएको छ। अदालतबाट दोषी ठहर भएर कैद, जरिवाना वा दुवै सजाए तोकेर भुक्तान नगरेका प्रतिवादीलाई पछिल्लो समय कपिलवस्तु प्रहरीले धमाधम पक्राउ गरेको एसपी भट्टले बताए । उनका अनुसार सजाय अवधि तोकिएको २० वर्षपछि ६ जना, १५ वर्षपछि २१ जना, १० वर्षपछि १९ जना, ५ वर्षपछि १५ जना र ५ वर्षभन्दा कमका ६१ जना गरी कुल १२२ जना पक्राउ गरिएको हो।
प्रहरीले चैतमा दर्ता भएका २७१ वटा मुद्दामध्ये १६९ मुद्दा मिलापत्रसमेत गरेको छ। यस्तै, ५६ वटा मातहतका कार्यालयमा पठाइएको छ। अधिकारीले भने, ‘४६ वटा पेन्डिङ रहेका मुद्दा फर्स्योट हुन बाँकी छन्।’