काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले नागरिक केन्द्रीत सेवा प्रवाहलाई प्राथमिकतामा राखी प्रहरी कर्मचारीहरूले आफूलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्नुपर्ने बताउनुभएको छ ।
हालै सरूवा भई आ-आफ्नो कार्यक्षेत्रमा खटि जान लाग्नु भएका प्रहरी नायव उपरीक्षकहरू र प्रहरी निरीक्षकहरूलाई आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताउनुभएको हो ।
प्रहरी महानिरीक्षक थापाले हाल समाजमा देखा परेका चुनौतिहरूलाई अवसरको रूपमा लिई उच्च व्यावसायिकता प्रदर्शन गर्नुपर्नेमा जोड दिँदै व्यक्तिगत स्वार्थ भन्दा सांगठनिक स्वार्थलाई केन्द्रबिन्दुमा राखेर संगठनलाई थप बलियो र सुदृढ बनाउन चेन अफ कमाण्डभित्र रहेर सामूहिक प्रयासमा केन्द्रीत हुनुपर्ने बताउनुभयो । संगठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै सांगठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू सक्रिय भई कार्यसम्पादन गर्न उहाँले निर्देशन दिनुभयो ।
प्रहरी महानिरीक्षक थापाले लागूऔषध, साइबर अपराध, सीमा क्षेत्रमा हुने अपराध लगायतका आपराधिक गतिविधि नियन्त्रणमा विशेष चनाखो भई कार्यसम्पादन गर्नुपर्ने उल्लेख गर्दै तस्करी नियन्त्रणमा समेत प्रभावकारी र परिणाममुखी ढंगबाट परिचालन हुन निर्देशन दिनुभयो । आ-आफ्नो जिम्मेवारीको क्षेत्रहरूमा सुरक्षा व्यवस्थापन एवम् विपद् व्यवस्थापनको निम्ति सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै नयाँ जिम्मेवारीलाई नविन ढंगले सम्पादन गरी आफूलाई रोल मोडलको रूपमा प्रस्तुत गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन समेत दिनुभयो ।