सहिदलखन गाउँपालिका वडा नम्बर ७ लगातार दोस्रो पटक उत्कृष्ट वडा घोषित भएको छ। चालु आर्थिक वर्ष २०८१/८२ का सम्पूर्ण भौतिक पूर्वाधार निर्माण योजनाहरू माघ महिनाभित्रै सम्पन्न गर्दै प्रभावकारी सेवा प्रवाहमा अग्रस्थानमा देखिएको सो वडालाई गाउँपालिकाले उत्कृष्टको रूपमा छनोट गरेको हो।
गत वर्षदेखि सुरु भएको नौलो अभ्यास निरन्तर छ । ‘राम्रो काम होस् र समयमा सकियोस् भनेर यस्तो व्यवस्था गरिएको हो,’ पालिका अध्यक्ष रमेश थापाले भने, ‘काम गर्ने क्रममा यसले प्रतिश्पर्धा बढाएको छ । कामको रफ्तार बढेको छ ।’
यही कार्यविधि कार्यान्वयनमा आएपछि शहिद लखनका सबै वडाले आर्थिक वर्ष नसकिँदै काम सिध्याउन थालेका उनले बताए । ‘राजस्वको क्षमता सुधार भएको छ । प्रायः वडाले बैशाखमै योजनाका काम सिध्याउन थालेका छन्,’ उनले भने । पालिकाले घोषणा गरेको ५ लाख पुरस्कार दोस्रो पटक पनि वडा नम्बर ७ ले पाएको छ ।
सोमबार बसेको कार्यपालिका बैठकले उक्त वडालाई नै दोस्रो पटक पुरस्कृत गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले जानकारी दिए ।
पालिकाले उत्कृष्ट वडा छनोट गर्न छुट्टै कार्यविधि बनाएको छ । कार्यविधि अनुसार ७ नम्बर वडाले ८५ अंक पाएर पहिलो भएको हो । ‘दोस्रो पटक पनि उत्कृष्ट हुँदा खुसी लागेको छ,’ वडाध्यक्ष शरण श्रेष्ठ भन्छन्, ‘यो श्रेय सम्पूर्ण जनतामा जान्छ । उहाँहरुले समयमा काम नगर्दिनुभएको भए हामी उत्कृष्ट हुने थिएनौं ।’
यस्तै, वडा नम्बर ८ दोस्रो भएको छ । उसले ८० अंक पाएको हो । योजना छनोट, कार्यान्वयन, उपभोक्ता समिति गठनदेखि योजनाको सम्झौता, भुक्तानी सम्म अंक दिइएको छ ।
यस्तै, राजस्व संकलन, जनश्रमदान, बेरुजु फस्र्योट लगायत सूचकलाई आधार मानेर रिपोर्ट निकालिएको थियो । ७ नम्बर वडाले कार्यविधि अनुसारका योजना माघ महिनामै सम्पन्न गरिसकेको थियो ।




