काठमाडौँ: अदालतबाट दोषी ठहर भएर कैद तथा जरिबानाको सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गर्न मकवानपुर प्रहरी सक्रिय बनेको छ ।
मकवानपुर जिल्ला प्रहरी प्रमुख एसपी विश्वराज खड्काले फरार अपराधी पक्राउका लागि प्रहरीले चलाएको अभियानबाट न्याय प्राप्तिमा पीडितलाई राहत पुगेको बताए। उनका अनुसार ‘घरगाउँमै लुकीछिपी बसिरहेका अपराधीहरू धमाधम पक्राउ पर्न थालेपछि पीडितले न्याय पाउने विश्वास गरेका छन्। ‘समग्र शान्ति सुरक्षाको अवस्था बलियो भएको छ । प्रहरीमाथिको विश्वास बढेको छ,’ खड्काले भने ।
‘एक्सन’मा गएको प्रहरीले फरार रहेका अपराधीलाई पक्राउ गर्न विशेष अभियान नै चलाएको छ । जसका कारण मकवानपुर प्रहरीले हालसम्मकै उल्लेखनीय सफलता हासिल गरेको छ। अपराधमा संलग्न भए पनि वर्षौंसम्म सजाय भुक्तान नगरी लुकीछिपी बसेका कुख्यात अपराधीहरूलाई पक्राउ गर्न थालेपछि कानुनी शासनप्रति जनताको भरोसा बढ्न थालेको निष्कर्ष प्रहरीले निकालेको छ ।
‘प्रहरीको सक्रियताले कानुनप्रतिको भरोसा बढेको छ,’ खड्काले भने, ‘हामी अपराध गरेमा सजाय अनिवार्य हुन्छ भन्ने सन्देश दिन चाहन्छौं। अपराधी जति नै चलाख भए पनि कानुनको कठघरामा ल्याउन प्रहरी सक्षम भएको प्रमाणित गरिरहेका छौं।’
एसपी खड्काका अनुसार प्रहरीले पछिल्लो समय अदालतको आदेश कार्यान्वयन, न्यायको अनुभूति र अपराधविरुद्ध जनविश्वास बढाउने अभियानलाई थप सशक्त बनाउँदै लगेको छ। अपराध गरेर उम्किन सकिन्छ भन्ने धारणा चिर्दै अपराधीलाई पक्राउ गर्न प्रहरी अग्रसर बनेको उनको भनाइ छ ।
लागुऔषध कारोबार र प्रयोगको ‘हट स्पट’का रूपमा चिनिँदै मकवानपुर
मकवानपुर जिल्ला पछिल्लो समय लागुऔषधको ‘हट स्पट’ बन्दै गएको छ । लागुऔषधको कारोबार, ओसारपसार र सेवन तीव्र रूपमा वृद्धि हुँदै गइरहेको तथ्याङ्कले पुष्टि गर्छ ।
एसपी खड्काका अनुसार लागु औषधसँग सम्बन्धित घटना वृद्धि हुनु अत्यन्तै चिन्ताजनक हो । ‘लागुऔषधको कारोबार र प्रयोग बढ्दै जाँदा समाज ध्वस्त हुन्छ । सामाजिक संरचनामा नकारात्मक असर पर्छ । युवा पुस्ता लागुऔषधको दलदलमा फसेको छ । यसले समाज र परिवार विघटनको जोखिम उच्च बनेको छ,’ उनले भने ।
जिल्लाका विभिन्न ठाउँहरूबाट आजकाल दैनिक जसो लागुऔषधका कारोबारी र प्रयोगकर्ता पक्राउ नपरेको दिन नै छैन । ‘लागुऔषध नियन्त्रण निक्कै चुनौतीपूर्ण बन्दै गएको छ । यो अति नै चिन्ताजनक विषय हो,’ खड्का भन्छन् ।
लागुऔषधका कारण मानसिक समस्या निम्तिने, मानिसले नियन्त्रण गुमाउने, शिक्षा र रोजगारीमा गिरावट आउने तथा समाजमा अपराध बढ्ने एसपी खड्काले बताए । त्यति मात्रै हैन, यसले परिवार एवं सम्पत्ति ध्वस्त बनाउँछ । सामाजिक संरचनामा गहिरो असर पुर्याउँछ ।
नेपालमा स्पास्मोप्रोक्सिभन, डाइजेपाम, नुफिन, ब्राउन सुगर, गाँजा, चरेस, फेनारगनलगायतका लागुऔषधको प्रयोग उच्च रहेको विभिन्न अध्ययनहरूले देखाएको छ । भारतसँगको खुला सीमाका कारण लागुऔषध सहजै नेपाल भित्रिन्छ । प्रहरीले सीमा क्षेत्रमा कडाइ गरे पनि लुकाई छिपाइ भित्राउनेहरूको सङ्ख्या उल्लेख छ । साथै, गाँजा नेपालमै उत्पादन हुन्छ ।
‘लागुऔषध नियन्त्रणका लागि प्रहरी सक्रियता बढाइएको छ । सामाजिक र शैक्षिक हिसाबले पनि यस विरुद्धको अभियान चलाउनुपर्ने जरुरी रहेको एसपीको भनाइ छ । ‘लागुऔषधले व्यक्तिगत स्वास्थ्यसँगै धन सम्पत्ति, परिवार र समाजलाई ध्वस्त बनाएको छ । सामाजिक, स्वास्थ्य र शैक्षिक पाटाहरू यसको प्रमुख कारक हुन्,’ उनले भने । लागुऔषध नियन्त्रणमा दीर्घकालीन रणनीति आवश्यक देखिएको र यसमा सबै पक्ष एकजुट हुनुपर्ने अवस्था रहेको सरोकारवाला बताउँछन् ।
एसपी खड्काका अनुसार लागुऔषधको जालो तोड्न र यससँग सम्बन्धित समस्या समाधान गर्न राज्य, समाज, परिवार र शिक्षण संस्थाबिच सहकार्य गरेर बहु आयामिक प्रयास गर्नुपर्ने आवश्यकता देखिन्छ ।



