Comments Add Comment

Advertisment

SKIP THIS

भन्सार छली तथा अवैध चोरी निकासी नियन्त्रणमा रुपन्देही प्रहरीको ऐतिहासिक सफलता

काठमाडौँ: जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आर्थिक वर्ष २०८१÷०८२ मा भन्सार छली तथा अवैध चोरी निकासी नियन्त्रणमा ऐतिहासिक सफलता हात पारेको छ । प्रहरीले यस अवधिमा १२ करोड ६७ लाख ७१ हजार ७७९ रुपैयाँ बराबरको अवैध सामान बरामद गर्नुका साथै तस्करीमा संलग्न ११३ जनालाई पक्राउ गरेको छ । यो सफलताले सीमा क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणमा प्रहरीको सक्रियतालाई पुष्टि गरेको सरोकारवालको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) प्रदीप बहादुर क्षेत्रीका अनुसार, कार्यालय तथा मातहतका प्रहरी इकाईहरूबाट खटिएको विशेष टोलीले भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउन लागेको समानहरु बरामद गरेको हो । बरामद गरिएका सामानहरूमा पशुपंक्षी देखि किराना, विद्युतीय सामग्री, कपडा, र अन्य घरायसी सामग्रीहरू रहेका छन् ।

यस बृहत कारबाहीको क्रममा प्रहरीले तस्करीमा प्रयोग भएका ३३१ वटा सवारी साधन समेत नियन्त्रणमा लिएको छ । जसमा ३०२ वटा मोटरसाइकल, ८ वटा ट्रक, १७ वटा पिकअप, ३ वटा अटो रिक्सा र एउटा ट्याक्टर रहेका छन् ।

एसपी क्षेत्रीले बरामद गरिएका सम्पूर्ण सामान, पक्राउ परेका व्यक्तिहरू र नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया, पशु क्वारेन्टाइन चेकपोस्ट बेलहिया र राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको जानकारी दिए ।

भन्सार छली नियन्त्रणका साथै जिल्लाको समग्र शान्ति सुरक्षा र अपराध नियन्त्रणमा पनि रुपन्देही प्रहरीले उल्लेखनीय प्रगति गरेको छ । चालु आर्थिक वर्षमा जिल्लाभर कूल १७०७ वटा मुद्दा दर्ता भएकोमा ११४५ वटा मुद्दा फस्र्यौट भइसकेको छ भने ५६२ वटा मुद्दा अनुसन्धानको प्रक्रियामा रहेका छन् । यो तथ्याङ्कले प्रहरीको मुद्दा फस्र्यौट दर प्रभावकारी रहेको देखाउँछ ।

गत आर्थिक वर्षमा प्रहरीले अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई कैद र जरिवाना सजाए पाएका ८२३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जसबाट ५ सय ६ वर्ष २ महिना १२ दिन कैद असुलका लागि कारागार चलान गरिएको र ७ करोड ४५ लाख ८१ हजार ८ सय १४ रुपैयाँ जरिवाना असुलका लागि अदालतमा पठाइएको एसपी क्षेत्रीले बताए।

यस्तै प्रहरीले लागुऔषध ओसारपसारमा संलग्न २ सय २२ जनालाई पक्राउ गरेको छ। जसबाट गाँजा ११३ किलो बढी, ब्राउन सुगर ७३२ ग्राम बढी, चरेस २० किलो लगायतका लागुऔषध बरामद भएको छ।

गत वैशाखमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नेतृत्व सम्हालेका एसपी क्षेत्रीको आगमनसँगै सीमा क्षेत्रमा हुने अवैध कारोबार र अपराध नियन्त्रणमा प्रहरीले आक्रामक रणनीति अपनाएको स्थानीयले बताएका छन् । प्रहरीको यस सक्रियताले जिल्लामा राजस्व संकलनमा समेत सकारात्मक प्रभाव पार्ने र आपराधिक गतिविधिमा कमी आउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै