तारकेश्वर, काठमाडौं – केही दिनअघि आएको अविरल वर्षापछि आएको बाढीले तारकेश्वर नगरपालिका वडा नम्बर ८ र ४ को सिमानामा रहेको CN मार्ट अगाडि रहेको पुरानो पुल बगाएपछि स्थानीय बासिन्दाको पहलमा अस्थायी फलामे पुल निर्माण कार्य तीव्र गतिमा अगाडि बढाइएको छ।
स्थानीयको सक्रियता, वडास्तरीय समन्वय र जनसहभागिताको उदाहरणस्वरूप निर्माण भइरहेको यो अस्थायी फलामे पुल अहिले दैनिक आवागमन गर्ने सर्वसाधारणका लागि ठूलो राहतको स्रोत बनेको छ।
वडा नम्बर ८ का वडा अध्यक्ष श्यामकृष्ण सापकोटाले अस्थायी पुल निर्माणमा वडाको तर्फबाट तत्काल १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार, “यो आपत्कालीन अवस्थामा जनताको सहज आवागमनका लागि तत्काल आवश्यक रहेकोले हामीले यथासक्य चाँडो पहल गरी सहयोग गरेका हौं।”
पुल निर्माणमा स्थानीयवासीहरूको श्रमदान, संयोजन र सामूहिक प्रयास उल्लेखनीय रहेको छ। दुवै वडाबासीको आपसी समन्वयमा बन्न लागेको यस अस्थायी पुलले अहिले दैनिक काम, विद्यालय, अस्पताल तथा बजार आवतजावत गर्ने नागरिकलाई राहत दिएको छ।
हाल निर्माणाधीन फलामे पुल पूर्ण रूपमा तयार भएपछि दुवै वडाका नागरिकलाई सुरक्षित र सहज आवागमनमा थप सहजता हुने विश्वास लिइएको छ। स्थानीयवासीहरूले भने स्थायी संरचना निर्माणका लागि दीर्घकालीन योजना र नगरपालिका तहको ध्यानाकर्षण गराएका छन्।






