काठमाडौँ । तिहारको अवसरमा सवारीसाधनको चाप बढ्दै जाँदा र मानिसहरू रमाइलोका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने घटनामा वृद्धि हुन सक्ने सम्भावना देखिएपछि नेपालटार ट्राफिक प्रहरीले तारकेश्वर क्षेत्रमा लापसे–मापसे चेकिङ अभियान तीव्र पारेको छ।
आज दिउँसो तारकेश्वर नगरपालिका वडा नम्बर ६ धर्मस्थली क्षेत्रमा दिउँसो ३ बजेदेखि बेलुकी ५ बजेसम्म नेपालटार ट्राफिक प्रहरी र बालाजु प्रहरीको संयुक्त समन्वयमा चेकिङ अभियान सञ्चालन गरिएको थियो।
चेकिङका क्रममा ४ पाङ्ग्रे सवारीसाधन १७ र २ पाङ्ग्रे सवारीसाधन ६७ गरी कुल ८४ सवारीसाधनहरूको जाँच गरिएको छ। सो क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने ९ जना चालकलाई कारबाही गरिएको र एक जना चालक मापसे (मदिरा सेवन गरी सवारी चलाएको) अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।
तिहारको समयमा मानिसहरूले मापसे र लापसे गरेर सवारी चलाउने जोखिमपूर्ण प्रवृत्ति देखिने भएकाले, यस्ता चालकहरूको जीवन रक्षाका लागि तथा अन्य सडक प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न नेपाल प्रहरीले देशभर चेकिङ अभियानलाई सशक्त रूपमा अघि बढाएको जनाएको छ।
नेपाल प्रहरीले जनतालाई “मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन” र “सडक सुरक्षा नियमको पूर्ण पालना गर्न” आग्रह गर्दै आएको छ। प्रहरीले भनेको छ— “एक क्षणको असावधानीले जीवनभरको पछुतो ल्याउन सक्छ, त्यसैले सचेत रहनुहोस् र सुरक्षित यात्रा गर्नुस्।”
यस किसिमको अभियानले तिहार जस्ता चाडपर्वमा हुने सवारी दुर्घटनालाई घटाउने र जनचेतना अभिवृद्धि गर्नेमा प्रहरी विश्वस्त रहेको छ।






