काठमाडौं । बालाजु–१६, काठमाडौंस्थित जीवन रक्षा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
“उन्नतिको सहयात्री जीवन रक्षा सहकारी” भन्ने नारासहित आयोजित साधारण सभामा काठमाडौं महानगरपालिका वडा नम्बर १६ की वडा अध्यक्ष रोजिना श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा वडा सदस्य शारदा सुवेदीसहित संस्थाका अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, सचिव तथा सञ्चालक समिति सदस्यहरूको उपस्थिति रहेको थियो।
साधारण सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, कारोबार तथा आगामी योजनाबारे छलफल गरिएको थियो। संस्थाका अध्यक्षले पछिल्लो समय विभिन्न सहकारी संस्थामा समस्या देखिए पनि सदस्यहरूको साथ, सहयोग र विश्वासका कारण जीवन रक्षा सहकारी हालसम्म सकारात्मक रूपमा सञ्चालन भइरहेको र संस्था नाफामा रहेको बताउनुभयो।
उपाध्यक्ष देवेन्द्रकुमार श्रेष्ठले संस्थालाई अझ व्यवस्थित, पारदर्शी र आकर्षक बनाउन सबै सदस्यको साथ र सहयोग आवश्यक रहेको बताउँदै सहकारीप्रतिको विश्वासलाई निरन्तर कायम राख्न आग्रह गर्नुभयो।
कार्यक्रममा संस्थाका सचिवले वर्षभरिका गतिविधि, आर्थिक अवस्था तथा प्रगतिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदन तथा आर्थिक हिसाब–किताबमाथि छलफलपछि सदस्यहरूले सकारात्मक प्रतिक्रिया जनाएका थिए।
यसैबीच, जीवन रक्षा बचत तथा ऋण सहकारी संस्थाले भोटेकोशी बाढीपीडितको सहयोगार्थ नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार ११ रुपैयाँ सहयोग गरेको जानकारीसमेत सभामा दिइएको थियो।
सहकारीको आर्थिक प्रगति, सदस्यको विश्वास, सामाजिक उत्तरदायित्व तथा आगामी योजनामाथि छलफल गर्दै १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो।









