
३ माघ , काठमाडौ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघ स्नान आजदेखि सुरु भएको छ ।
पौष शुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरवात हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गर्ने गरिन्छ ।
बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्य बिच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा रहेको छ ।
एक महिना सम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्त चन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ ।
चढाइएका प्रसाद मध्ये सबै बाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि छ । सय रोटी व्रतालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको महात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा वर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो ।
यस्तै आजैदेखि एक महिना सम्म काठमाण्डौको उत्तरपूर्वी भेगमा रहेको साँखुको शाली नदीमा माघ स्नान सहित माधव नारायणको मेला हुने गर्छ । प्राचीनकाल देखि लाग्दै आएको मेलामा यस वर्ष भने कोरोनाका कारण धेरै चहल पहल नहुने भएको छ ।








