१८ माघ , काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका सडकमा राखिएका सबै सडक डिभाइडरहरू पखाल्ने अभियान सुरु गरेको छ । धुलोका कारण सडकमा राखिएका डिभाइडरहरू मैलो देखिएको र रातको समयमा चम्किलो नहुने हुँदा दुर्घटना बढेको भन्दै डिभाइरलाई सफा र चम्किलो बनाइराख्नको लागि अभियान नै सुरु गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी उमेश राज जोशीले बताए ।

‘सडक सबैका लागि सधैँ सुरक्षित हुनुपर्छ, सुरक्षाको लागि कुुनै पनि कसर बाँकी राख्न हुँदैन त्यही भएर डिभाइडर सफाइलाई अभियानकै रूपमा सञ्चालन गरेका हौँ’, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख उमेशराज जोशी भन्छन् । यसको लागि सबै ट्राफिक प्रहरीहरूले आफ्नो नजिकको सडकमा रहेका डिभाइडरहरूलाई धोएर रातको समयमा पनि प्रस्टरूपमा देखिने बनाउन निर्देशन दिइसकेको उनले बताए । सोअनुुसार काम पनि सुरु भइसकेको उनको भनाइ छ । आफू कार्यालय प्रमुखको रूपमा महाशाखामा हाजिर भएदेखि नै उपत्यकाको सडक, सुरक्षामा खटिने १६ सय ट्राफिक प्रहरीको मनोबल उच्च राख्दै सुधारको कामहरू सुरु गरेको उनले बताए ।
भरसक सडक प्रयोगकर्ताहरूबाट कुनै पनि गल्ती नहोस् यदि गल्ती भएमा जरिवाना तिर्न सहज होस् भनेर महाननगरीय ट्राफिक प्रहरीले सात ठाउँबाट विनाझन्झट अत्याधुुनिक मेसिनबाट जरिवाना तिर्नसक्ने व्यवस्था कार्यान्वयनमा ल्याएको, फरक क्षमताका व्यक्तिहरूलाई सार्वजनिक सवारीसाधन प्रयोग गर्न सहज होस् भने, झर्ने र चढ्ने निश्चित ठाउँको व्यवस्था गरेको महाशाखा प्रमुख जोशीले बताए ।







