२३ माघ , काठमाडौ । पहिलो दिनको घटनाको भिडियो र फोटो बनाएको र आफूले भनेको समयमा नआए आफन्तलाई पठाइदिन्छु भन्दै उनले धम्क्याउने गरेको पीडितको भनाइ छ । ‘फेसबुकबाट पनि लिक गरिदिन्छु भन्दै धम्क्याएर निरन्तर शोषण गर्यो,’ उनले भनिन् ।
गत वैशाखको एक दिन उनले चार वर्षदेखि शोषण गर्दै आएका नुवाकोटका पशुपति मैनालीको दबाब मान्न सकिनन् । त्यसपछि जबर्जस्ती गर्दा लिएका तस्बिर मैनालीले उनका घरका मानिसलाई पठाइदिए ।
त्यसपछि घरबाट निकालिएकी उनी माइत पुगिन् । त्यहाँ पनि मैनालीले तस्बिर पठाइदिएपछि बस्ने वातावरण भएन । ‘छोराछोरी छोडेर हिँडेको १० महिना भयो,’ उनले भनिन्, ‘देख्न नपाएरै छटपटाएकी छु । उनीहरूलाई पनि आमालाई कति देख्न मन लाग्दो हो ।’
पहिलो पटक शोषणमा पर्दा उनका छोरा चार वर्षका थिए, पछि जन्मिएकी छोरी पनि अहिले तीन वर्ष पुग्न लागिन् । तर, गत वैशाखमा घरबाट निकालिएपछि उनले आफ्ना छोराछोरीलाई देख्न पनि पाएकी छैनन् ।
‘सुरुमा छोरालाई मारिदिन्छु भन्यो, नमाने अपहरण गरिदिन्छु भन्दै धम्क्याउँथ्यो । छोराले पनि उसलाई देखिराखेकोरचिनिराखेकाले स्कुलबाट फकाएरै अपहरण गर्दिन्छ कि भन्ने डरले जे–जे भन्छ, त्यो मान्नुपर्ने बाध्यतामा थिएँ,’ उनले भनिन्, ‘जुन छोरालाई बचाउन यत्रो शोषणमा परें, अहिले उसैबाट टाढिनुपरेको छ । एउटी महिलालाई यस्तै बेला त हो घरको र माइतीको साथ चाहिने । मलाई भने दुवैबाट निकालिदिए ।’
घर र माइतीबाटै निकालिएपछि उनी करिब ६ महिना महेन्द्रनगर गएर दिदीकहाँ बसिन् । मैनाली नयाँ–नयाँ नम्बरबाट फोन गरिरहन्थे, ती पनि उनले ब्लक गरिन् । तर, त्यहाँ सधैंभर बस्न सम्भव थिएन, फर्केर काठमाडौं आइन् । एक संस्थामा शरण लिइरहेकी उनलाई गत कात्तिकमा भेटेर फोटो र भिडियो डिलिट गरिदिने मैनालीको प्रस्ताव आयो । कात्तिक १५ गते बागबजारको एउटा होटलमा भेट्न पुगेकी उनी त्यहाँ पनि बलात्कारको सिकार भइन् ।





