०१ फाल्गुण , काठमाडौं । भौगोलिकरूपमा दुर्गम र विकट क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको मलाङमा प्रहरी पोष्ट स्थापना भएको छ । रघुगङ्गा –७ चिमखोला र ८ कुइनेमङ्गलेको सुरक्षाका लागि प्रहरी पोष्ट स्थापना भएको हो । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले शनिबार पोष्टको शुभारम्भ गरेका छन् ।
पाँच प्रहरी रहने गरी स्थापना गरिएको चौकीलाई स्थायी रुपान्तरण र चौकीमा स्नरोन्नति गरिने प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए। शान्ति सुरक्षाका लागि स्थानीयवासी र गाउँपालिकाबाट भएको मागअनुसार प्रहरी पोष्ट स्थापना गरिएको उनको भनाई थियो । गाउँपालिकाका अनुसार १४ हजार जनसङ्ख्या भएको रघुगङ्गाको एकतिहाइ जनसङ्ख्या यी दुई वडामा छ ।
“गत वर्ष अजिङ्गर भिरमा सडक खुलेसँगै अपराधजन्य गतिविधि, जलविद्युत् आयोजना निर्माण हुन थालेपछि बाह्य मजदुरको चहलपहल र आर्थिक गतिविधिसँगै सुरक्षा चुनौती बढेको थियो,” डीएसपी राईले भने ,”पोष्ट स्थापनापछि बिपद् व्यवस्थापनका साथै धवलागिरि सेञ्चुरी र आइसफल पदमार्गको सुरक्षामा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।”
प्रहरी पोष्ट स्थापनाका लागि ३५.५ मेगावाटको राहुघाट मङ्गले र ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको प्रवद्र्धक तुदी पावर कम्पनीले तीनकोठे भवन उपलब्ध गराएको छ ।
कम्पनीका प्रतिनिधि उपेन्द्र गौतमले प्रहरी पोष्ट स्थापनाका लागि तत्कालका लागि भवन र पक्की भवन बनाउन तीन रोपनी जग्गा उपलब्ध गराएको बताए। यसअघि चिमखोला र कुइनेमङ्गलेमा छिमेकी वडा पाखापानीमा रहेको प्रहरी चौकीका सुरक्षाकर्मी पुग्नुपर्दथ्यो । भौगोलिक विकटता, यातायातको असुविधाका कारण पाखापानीबाट चिमखोला र कुइनेमङ्गलेमा सुरक्षाकर्मी पुग्न पूरै दिन लाग्ने समस्या थियो ।
आवश्यकता र मागअनुसार सुरक्षा व्यवस्थाका लागि चिमखोलामा प्रहरी पोष्ट स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी रानाले बताए । जिल्ला न्यायाधीश तेजनारायण पौडेलले लगानीसँगै स्वभाविकरूपमा विकास भित्रने भएकाले प्रवद्र्धकहरुले क्षति न्यूनीकरण र स्थानीयवासीको आवश्यकता सम्बोधन तथा स्थानीयवासीले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताए ।




