
२४ जेठ , काठमाडौ । फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा आज नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुँदैछ।

खेलमा नेपालले चाइनिज ताइपेईविरुद्धको टिममा खेलेका तीन खेलाडी परिवर्तन गरेको छ । खेलका लागि डिफेन्डर विकास खवास र दिनेश राजवंशी टिममा छन्। यस्तै फरवार्डमा अभिषेक रिजाल पनि पहिलो रोजाइमा अटाएका छन्। सुमन अर्याल मिडफिल्डमा तानिएका छन्।

अघिल्लो खेलमा पहिलो रोजाइमा रहेका डिफेन्डर गौतम श्रेष्ठसहित सुनील बल र आशिष लामा बैकल्पिक खेलाडीमा छन्।
नेपाली टिम
गोलकिपर स् किरणकुमार लिम्बु (कप्तान),डिफेन्डर स् रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, विकास खवास मिडफिल्डर स् सन्तोष तामाङ,पुजन उपरकोटी, सुमन अर्याल फरवार्ड स् अभिषेक रिजाल,सुमन लामा, अन्जन विष्ट समूहको चौथो स्थानमा रहेको नेपालका लागि आज राति हुने खेल महत्वपूर्ण छ। जोर्डनलाई हराउन सके नेपाल एसियन कप छनोटको तेस्रो चरणमा सिधै पुग्ने सम्भावना हुनेछ।

समूहकै खेलमा आज अस्ट्रेलिया र चाइनिज ताइपेईबीच प्रतिस्पर्धा हुँदैछ। १५ अंक जोडेको शीर्ष स्थानको अस्ट्रेलियाले अहिलेसम्म खेलेका पाँचै खेलमा जित हात पारेको छ। दोस्रो र तेस्रो स्थानका कुवेत र जोर्डनले समान १०-१० अंक जोडेका छन्।

नेपाल ६ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा छ। पाँचौ स्थानको चाइनिज ताइपेईले खेलेका ६ खेलमै हार बेहोरेकाले अंक जोड्न सकेको छैन।




