२३ साउन , काठमाडौं । मकवानपुरको हेटौँडामा पाँच वटा सवारीसाधन ठोक्किएका छन्।
हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित पूर्वपश्चिम राजमार्गमा सोमबार बिहान स्कुल बस, ट्रक, ट्याङ्कर, कार र लरी आपसमा ठाक्किएर दुर्घटनामा परेको हो।
दुर्घटनामा परि विद्यार्थीसहित १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। घाइतेको हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको उनले बताए । उनीहरू सबैको अवस्था सामान्य नै रहेको कार्कीले बताए।
कार्कीका अनुसार सुरुमा ना १ क ५१२३ रिलायन्स स्कुलको बसलाई पछाडिबाट ना ५ ख ६२५४ नम्बरको ट्रकले ठक्कर दिएको थियो। फेरि सोही ट्रकले गएर लु १ क ७३७० नम्बरको ट्यांकरलाई ठक्कर दिएको थियो। त्यस ट्याङ्करले बा ७ च ९६०४ नम्बरको कारलाई ठक्कर दिएको थियो।
त्यस्तै ट्रकले फेरि गएर सडकमा रोकिराखेको प्रदेश २-०३-००१-ख २५०६ नम्बरको लरीलाई ठक्कर दिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







