११ फागुन , काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा घोडाबाट लडेर एक बालिकाको मृत्यु भएको छ । स्थानीय पासाङल्हामु शेर्पाको ८ वर्षीया छोरी सोनाम छुटिन शेर्पाको घोडाबाट लडेर मृत्यु भएको हो ।
घोडा उनीसँगै सवार रहेकी अर्की ९ वर्षीया बालिका मिङमा कान्छी शेर्पा घाइते भएकी छन् । बुधवार बिहान साढे १० बजे उनीहरू मामाको घोडामा चढेर जाँदै गर्दा खुम्बु पासाङल्हामु गाउँपालिका ३ लासे दोभान स्थितमा हिउँमा चिम्लिएर घोडा लड्दा उनीहरू समेत लडी घाइते भएका थिए ।
घाइते मध्ये सोनामको उपचारको लागी लैजाँदै गर्दा दिउसो १२ बजे बाटैमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली खटी गई थप अनुसन्धान गरिरहेको छ ।







