१३ फागुन , काठमाडौं । फिल्म ‘लाखे’ युनिट मुस्ताङ पुगेको छ । फिल्मको क्लाइमेक्स छायाङ्कनका लागि निर्माण युनिट केही दिन अगाडि मुस्ताङ पुगेको हो । मुस्ताङको कागबेनी लगायत बिभिन्न मनोरम दृश्य समेटिने गरेर फिल्मको क्लाइमेक्स छायाङ्कन भइरहेको कार्यकारी निर्माता हरिमल्ल ठकुरीले बताए । ‘लाखे’ को क्लाइमेक्स कसैले नसोचेको विषेश छ’ निर्माता ठकुरीले भने, ‘त्यसैले पनि हामीले मुस्ताङ रोजेका हौ ।’
सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, रोहित रुम्बालगायत कलाकार क्लाइमेक्सका लागि मुस्ताङ पुगिसकेका छन्, भने अभिनेत्री बर्षा राउत, अर्पण थापा, प्रशान्त ताम्रकारलगायत भने केही दिनमा पुग्दैछन् ।
सम्राट बस्नेतको निर्देशक रहेको ‘लाखे’ मल्टिस्टार कलाकारले भरिएको फिल्म हो । फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, रोहित रुम्बा, बर्षा राउत, अर्पण थापा, प्रशान्त ताम्राकार, संजोक राणा र कालु राना लगायत कलाकारको मुख्य भूमिका रहेको छ ।




