१६ पुष काठमाडौ । नेपाल प्रहरीले धरान र नेपालगन्जमा विधि विज्ञान प्रयोगशालाबाट भिसेरा परीक्षण सुरु गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले आज नीतिगत निर्णय र कार्ययोजना सार्वजनिक गर्दै भिसेरा परीक्षण सुरु हुनेबारे जानकारी दिएको हो ।
प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार धरान र नेपालगन्जमा उक्त सेवा सुरु गर्न ग्यास क्रोमाटोग्राफी मास स्पेक्ट्रोमिटर (जीसीएमएस) उपकरण दुई वटा खरिद गरिएको छ ।
यस्तै, केन्द्रीय अनुसन्धान ब्युरोमा मल्टिसोर्स क्रिमिनल, सस्पेक्ट प्रोफाइलिङ प्रणाली सुरु गर्न सफ्टवेयर जडान गरिएको छ । ७५ वटा इकाइमा इन्टरनेट विस्तार गरिएको छ ।
यस्तै थप ४५ वटा इकाइहरुमा अटोमेटेड फिन्गरप्रिन्ट आइडेन्टिफिकेसन सिस्टम ९एएफआईएस० विस्तार गर्ने लक्ष्यअनुसार सबै ७९ वटा इकाईहरूमा उक्त सिस्टम विस्तार भएको एसएसपी कुँवरले जानकारी दिए । ५ वटा एएफआईएस तालिम प्रयोजनको लागि विधि विज्ञान प्रयोगशाला, सामाखुसीमा राखिएको र जम्मा ८४ वटा रहेको प्रहरीले जनाएको छ ।
यस्तै राष्ट्रिय सूचना केन्द्रको सफ्टवेयर निर्माण, कार्यसम्पादनको तथ्यपरक मूल्यांकनका लागि सफ्टवेयर तयार, अनलाइनबाट काम गर्न तालिमलगायत कम गरिएको प्रहरी मुख्यालयले जनाएको छ ।




