११ चैत , काठमाडौं । निलम्बित नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेको निलम्बन फुकुवासँगै एक वर्ष बढुवा रोक्का गरिएको छ।
सिराहका कांगेस नेता रामचन्द्र यादवलाई गाली गरेको आरोपमा निलम्बित एसपी पाण्डेको एक वर्ष बढुवा रोक्का गर्ने निर्णय गर्दै निलम्बन फूकुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिराहको प्रहरी प्रमुखको रुपमा कार्यरत रहँदा पाण्डेले गत पुसमा नेपाली कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादव तथा सिडिओ लालबाबु कवारीलाई धम्काएको उजुरीका आधारमा गृह मन्त्रालयले तीन महिनाका लागि निलम्बन गरेको थियो।
‘सबै प्रक्रिया पुर्याएर एक वर्ष बढुवा रोकिने नसियतसहित निलम्बन फूकुवा गरिएको छ’, प्रहरी प्रवक्ता विष्णुकुमार केसीले भने। प्रहरी प्रधान कार्यालयले सो विषयमा उनीमाथि छानबिन टुंग्याएर निलम्बन फूकुवा गरेको हो।
कांग्रेस सभापति यादबले सरुवा गरिदिन्छु भनेर धम्काउँदै आएको र अवधि नपुगी सरुवा गरेपनि आवेगमा आएर उनले फोनमा धम्काएको छानबिनबाट पुष्टि भएको छ। सिडिओ कवारीसँग पनि उनको विवाद भएको थियो।



