२४ चैत , काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरमा कार्यरत प्रहरी कर्मचारीहरुको लागि ३ दिने ‘यात्रुमैत्री प्रहरी व्यवहार’ अनुशिक्षण तालिम मंगलबारबाट संचालन भएको छ ।

विमानस्थलमा आउने सेवाग्राहीलाई शिष्ट, सभ्य र नम्र व्यवहार प्रदर्शन गरी यात्रुमैत्री सेवा प्रदान गर्नका लागि उक्त प्रशिक्षण थालिएको हो ।
विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालका अनुसार तालिममा विमानस्थलमा कार्यरत २६५ जना प्रहरी हवल्दार तथा जवानहरु सहभागी भएका छन् ।
साथै समस्यामा परेका यात्रुलाई आवश्यक सहयोग प्रदान गर्न र हवाई यात्रुलाई सुरक्षाको प्रत्याभूति दिलाएर सुरक्षित गन्तव्यसम्म पुग्न सहजीकरण गर्ने उद्देश्यले उक्त कार्यक्रम थालिएको एसएसपी ढकालले जानकारी दिए ।


