०८ बैशाख , काठमाडौं । सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल र भागबन्डा मिलेपछि पार्टीभित्र उम्मेदवार बन्नेहरुको संख्या बढ्दै गएको छ । पाँच दलीय गठबन्धनबीच भएको सहमतिअनुसार काठमाडौं महानगरको उपमेयर नेकपा एकीकृत समाजवादीलाई परेको छ । उक्त पार्टीमा अहिले उपमेयर दाबेदारको संख्या पनि बढ्दै गएका छन्।
उपमेयर समेत पार्टीको भागमा परेपछि वडाध्यक्ष बनाउन तयार पारिएकाहरु समेत उपमेयरका लागि संघर्ष सुरु गरेका छन् । महानगरको उपमेयरमा रामेश्वर श्रेष्ठको दावी बलियो देखिएको छ । कुनै बेला युथ फोर्सको उपत्यका इन्चार्जका रहेका उनी पार्टीको महानगर कमिटीका अध्यक्ष समेत हुन् ।
यस्तै, उपमेयरका लागि तीनजना बहालवाला वडाध्यक्षले दावी पेश गरेका छन् । तीमध्ये वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोल तुलनात्मक रुपमा बलियो मानिएका छन् । उनी अहिले महानगरपालिकाका प्रवक्ता हुन् ।
यस्तै, अर्का दावेदार शुद्ध डंगोल ७ नम्बर वडा चावहिलका अध्यक्ष हुन् । उक्त वडा तालमेलमा पनि एकीकृत समाजवादीले पाउने करिब निश्चित छ । तर, उपमेयर पार्टीको भागमा परेपछि उनी पनि उपमेयर नै ताक्न थालेका छन् ।
त्यस्तै, एक महिनाअघि मात्र एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका बालकृष्ण श्रेष्ठले समेत उपमेयर बन्ने लविङमा जुटेका छन् । उनी हाल वडा नम्बर २५ का वडाध्यक्ष हुन् ।
केन्द्रीय सदस्य सीता श्रेष्ठले पनि उपमेयरको दावी प्रस्तुत गर्दै आएकी छन् भने पार्टीका अर्की केन्द्रीय सदस्य रन्जना मास्केले समेत उपमेयरमा लड्ने चासो देखाएको बताइन्छ ।
यस्तै, पार्टीको जिल्ला कमिटी उपाध्यक्ष ओमकुमारी श्रेष्ठले पनि उपमेयरको दावी गरिरहेको गर्दै आएकी छन् । तर, पार्टी अहिलेसम्म कुनैलाई आधारिक रुपमा उपमेयरमा सिफारिस गरेको छैन । उपमेयरका लागि दावेदार बढ्दै गएपछि पार्टी अध्यक्ष माधवकुमार नेपाललाई भने सकस हुने देखिन्छ ।


