२२ वैशाख, काठमाडौ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरु घरदैलोमा पुग्न थालेका छन् । पार्टीका चुनावी गीत तथा विभिन्न तामझामसहित उम्मेदवार गाउँ–गाउँ धाउँदै छन् । पार्टी र चुनाव चिह्नका झण्डा तथा ब्यानरले सजाएका सवारी साधन प्रयोग गरी भोट माग्नमै उम्मेदवार व्यस्त छन् ।
जिल्लामा ६ स्थानीय तह र ४५ वडामा २३७ पदका लागि ७१८ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । धौलागिरि गाउँपालिका–१ गुर्जामा अध्यक्षसहित तीन सदस्यमा नेकपा माओवादी केन्द्रबाट र एक सदस्यमा स्वतन्त्र उम्मेदवार निर्विरोध भएका छन् । वडाध्यक्षमा झकबहादुर छन्त्याल निर्विरोध हुनुभएको छ । जिल्लामा सत्ता गठबन्धनको पूर्ण तालमेल नभए पनि केही स्थानीय तहमा नेपाली काँग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन् ।
एमाले सबै स्थानीय तहमा एकल प्रतिस्पर्धामा उत्रिएको छ । रघुगङ्गा गाउँपालिका–६ मा एमाले र राप्रपाबीच तालमेल भएको छ । कांग्रेस र नेकपा माओवादी केन्द्र बेनी नगरपालिका, धौलागिरि र अन्नपूर्ण गाउँपालिकामा आंशिक तालमेल गरेर चुनावी मैदानमा उत्रिएका छन् भने नेकपा एकीकृत समाजवादीले चुनावी तालमेल नभएपछि जिल्लाभर तीन पदबाहेक अन्यमा मनोनयन फिर्ता लिएका छन् ।
तालमेल र एकल उम्मेदवारी दर्तापछि उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । नजिकको सरकारका प्रतिनिधि चुन्ने अवसर भएकाले पनि जनतामा स्थानीय तह निर्वाचनको रौनकले छोएको छ । एकपछि अर्को दलका उम्मेदवार गाउँ, टोल बस्ती हुँदै घरघरमा पुग्न थालेपछि निर्वाचन उत्सवजस्तै बनेको छ । अधिकांश उम्मेदवारले जनताको जनजीविकामा परिवर्तन ल्याउने ठोस खाका जनतासामु पेश गर्न सकेका छैनन् ।
रघुगङ्गा गाउँपालिका–६ पाखापानीका गौबहादुर विश्वकर्मा नेताहरुले निर्वाचनको समयमा आश्वासन र सपना मात्रै देखाउने र निर्वाचन जितेपछि पुरा नगर्ने गरेको दुःखेसो पोखे। “हिजो पनि यो गर्छौं, यो सुविधा दिन्छौं भनेर मत मागे, जितेर गएपछि खै हाम्रो लागि काम गरेको रु”, उनले प्रश्न गरेका थिए । सडक र भवन बनाउनेबाहेक जनताको दैनिकीमा आएका समस्यामा स्थानीय सरकारले काम नगरेको उनले बताए ।



