Comments Add Comment

Advertisment

SKIP THIS

सर्लाहीको चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या

२६ बैशाख , काठमाडौं । सुक्खा मौसम सुरु भएसँगै जिल्लाको चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या सिर्जना भएको छ ।

जिल्लाको उत्तरी चुरे क्षेत्रका बस्तीमा सुक्खा मौसम सुरु भएसँगै विगतका वर्षमा झैँ यसवर्ष पनि खानेपानीको समस्या सुरु भएको हो ।

उत्तरी चुरे क्षेत्रका धारा, इनार, कुवालगायतका खानेपानीका स्रोत सुक्न थालेपछि सो क्षेत्रका बस्तीमा खानेपानीको अभाव सुरु भएको ईश्वरपुर नगरपालिका– १२ का बासिन्दा रामबाबु थिङले गुनासो गरे। उनका अनुसार धारामा पानी आउन छाडेको धेरै भएको र आफूहरूले खोला तथा बगरका कुवाबाट पानी ल्याउने गरेको भए पनि अहिले ती कुवा पनि सुक्न थालेपछि खानेपानीको समस्या भएको हो ।

इश्वरपुर–१२ को घारी बथान, गुइडुङ, शिर फुलजोर, शिर कालिञ्जोर तथा लालबन्दी नगरपालिका–१५ का धुसेनी, देउराली, तिनघरे, वडा नं १२, १३ र १४ का अधिकांश बस्तीका साथै हरिवन नगरपालिका–१ को चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या देखिएको छ ।

जिल्लाको कर्णाली भनेर चिनिने यी स्थानका बस्तीमा अरु समयमा पनि सहजै शुद्ध पिउने पानी पाउन समस्या हुने गरेको भए पनि सुक्खा मौसम सुरु भएपछि खानेपानीको थप समस्या देखिएको इश्वरपुर–१२ की जानकी माया विकले बताइन् । जिल्लाको चुरे क्षेत्रका बस्ती र चुरे डाँडा छेउछाउका बस्तीमा फागुन महिनाबाटै खानेपानीको समस्या सुरु हुने गर्दछ । स्थानीय सरकारलाई यो विषयमा जानकारी भएको भए पनि समस्या समाधान गर्न स्थानीय सरकार लागि नपरेको ईश्वरपुर–१२ का जीवन तामाङले बताए ।

यसवर्ष हिउँदमा पर्याप्त पानी नपर्नाले, बढ्दो वन विनाश र उत्खननले गर्दा पछिल्ला वर्षमा खानेपानीका स्रोत चाँडो सुक्न थालेका प्राविधिकले बताएका छन् । हिउँदका केही महिना जिल्लाको उत्तरी चुरे क्षेत्रका अरु बस्ती भालुखोप केराबारी, वनमारा, बेलडाँडा, कालिञ्जोर, परवानीपुर, नारायणखोला, अत्रौली, ढुङ्गेखोला लगायतका क्षेत्रमा खानेपानीको समस्या हुने गरेको भए पनि त्यो समस्या समाधान गर्न स्थानीय सरकार लागि नपर्दा सो क्षेत्रका सयौँ बस्तीमा खानेपानीको समस्या दिन प्रतिदिन बढ्दो अवस्थामा रहेको स्थानीय युवा तेज तामाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै