८ असार , काठमाडौं । सरकारी कर्मचारी भन्दै सेवाग्राहीसँग १ लाख २५ हजार लिँदै गर्दा पर्सा प्रहरीले बीरगञ्जबाट एकजना दलाललाई रंगेहात पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बीरगञ्ज १३ मुर्लीका ६० वर्षीय दिनेश पाण्डे भनिने उमा पाण्डे रहेको प्रहरीले जनाएको छ । उनले निजामती कर्मचारीको पोशाक लगाएर आफू नापी कार्यालय पर्सामा कार्यरत कर्मचारी रहेको बताउँदै सेवाग्राहीसँग जग्गाको लालपुर्जा उपलब्ध गराइदिने भन्दै रकम लिन लागेका थिए ।
बीरगञ्जको आदर्शनगरस्थित एभरेष्ट बैंक भित्र सेवाग्राहीसँग १ लाख २५ हजार नगद रुपैयाँ लिँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल नेतृत्वको प्रहरी टोलीले पाण्डेलाई रंगेहात पक्राउ गरेको हो ।
बीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवा निवासी राजनारायण झालाई नयाँ नापीको लालपुर्जा उपलब्ध गराउने भन्दै ३ महिनादेखि अनावश्यक नापी कार्यालयमा दौडाउँदै आईरहेका पाण्डेले लालपुर्जा लिन मंगलबार अपरान्ह ३ बजे बोलाएको र लालपूर्जाका लागि १ लाख २५ हजार रकम दिनुपर्ने माग गरे बमोजिम बैंकबाट रकम झिकी बुझाउने क्रममा निजलाई रंगेहात प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक मल्ले जानकारी दिए ।नापी कार्यालयका कर्मचारीको मिलोमतोमा पाण्डेले बर्षौदेखि नापी कार्यालयको दोश्रो तल्लामा टेबल कुर्सी राखेर आफू सरकारी कर्मचारी भएको देखाउन कर्मचारीकै पोशाक समेत लगाएर बस्ने गरेका थिए ।पाण्डेमार्फत नै नापी कार्यालय आउने सेवाग्राहीलाई काम गरेवापत घुस दिन बाध्य पारिने गरेको अनुसन्धानको क्रममा खुलेको पनि प्रहरीले जनाएको छ ।



