८ असार , काठमाडौं । विराटनगर विमानस्थल विस्तार गर्ने भन्दै रोक्का गरिएको जग्गाका धनीहरुले आन्दोलन सुरु गरेका छन् ।विमानस्थल विस्तार र मुआब्जाका लागि संघीय सरकारले बजेट विनियोजन नगरेपछि दुई वर्षयता रोक्का राखिएको जग्गाको बिक्री फुकुवाको माग गर्दै जग्गाधनीहरुले आन्दोलन गरेका हुन् ।विमानस्थल पीडित संघर्ष समिति संयोजक वेदराज पौडेलका अनुसार मंगलबारदेखि चरणबद्ध आन्दोलन सुरु भएको छ ।
मंगलबार स्थानीयले विराटनगर विमानस्थलको गेटमा दुई घण्टा धर्ना दिएका थिए । माग पूरा नभएसम्म धर्ना जारी राख्ने पौडेलले बताए । विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि सरकारले विमानस्थल आसपासको १२६.४६ बिघा जग्गाको कारोबार रोक्का गरेको छ ।२०७७ कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले आसपासका जग्गा अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति दिएपछि रोक्का रहेको जग्गाको मुआब्जाका लागि सरकारले बजेट विनियोजन गरेको छैन ।१५ सय मिटर लम्बाइको धावन मार्गलाई ३ हजार मिटर बनाउनका लागि १४ सय कित्ता जग्गा रोक्का गरिएको थियो ।
तर दुई वर्षसम्म मुआब्जाका लागि सरकारले चासो नदिएका कारण आन्दोलन सुरु गरेको संघर्ष समिति संयोजक पौडेलको भनाइ छ ।उनका अनुसार विमानस्थल विस्तार गर्दा तीन सय ५० परिवार प्रभावित हुनेछन् । ती परिवारको जग्गा रोक्का राखेपछि समस्या भएको पौडेलले बताए ।


