१६ असार , काठमाडौं । ललितपुर सातदोबाटोस्थित देउराली बहुद्देश्यीय सहकारी संस्था बचतकर्तालाई समयमै बचत फिर्ता गर्न नसक्दा समस्यामा परेको छ । पछिल्ला दिनमा बचत फिर्ताका लागि भीड बढेपछि सहकारीले बचत फिर्ता गर्न नसकेको हो । हरेक दिन सहकारी कार्यालयमा पैसा लिन आउनेको भीड देखिने गरेको छ । जावलाखेलमा पसल व्यवसाय गर्दै आएका भारत घर भएका बचतकर्ता राकेश चौधरीले टोकन लिएर मात्रै पैसा निकाल्न पाउने सहकारीले नियम लगाएको बताए । उनले भने, ‘गत सोमबारसम्म टोकन बाँडिएको थियो । अहिले बन्द छ । अब टोकन लिनेले २८ असार मात्रै पैसा पाउँछ ।’
सहकारीबाट टोकन लिएकालाई मात्रै कार्यालय प्रवेश गर्न दिएको छ । आर्थिक वर्षको अन्तिम भएकाले सबै ठाउँमा आर्थिक दबाब रहेको बताउँदै सहकारीले साउनको पहिलो साताबाट कारोबार सुचारु गर्ने बताएको छ । सहकारीका अध्यक्ष रवीन्द्र चौलागाइँले एकैपल्ट ४० लाख रुपैयाँ बचतकर्ताको फिर्ता गर्नुपरेकाले अप्ठ्यारो परेको स्वीकार गरे । उनले भने, ‘हामी भागेका छैनौँ । कार्यालय खोलेरै काम गरिरहेका छौं । विस्तारै पैसा फिर्ता गछौँ । अहिले पनि दैनिक ३० लाखभन्दा धेरै बचत फिर्ता गरिरहेका छौं ।’
उनका अनुसार बजार प्रतिनिधि अहिले पनि ग्राहकसामु पुगिरहेका छन् । बजारबाट बचत राख्न कर गरिएको छैन, तर ऋण उठाउन भने सहकारीले जोडबल गरिरहेको छ । सहकारी कार्यालयमा भेटिएका एक बचतकर्ताले नाम नबताउने सर्तमा आफूले ४० लाख बचत गरेको बताए । उनले भने, ‘हरेक दिन १० हजार बचत फिर्ता गर्ने रे । दिन दिनै टोकन पाइँदैन । मलाई पैसा फिर्ता दिन दुई चार वर्ष लाग्ने भो ।’
पछिल्लो संकट टार्न अध्यक्ष चौलागाईँ लागेको एक कर्मचारीले बताए । उनले भने, ‘हरेक दिन छलफल र समस्या समाधानका लागि प्रयास भइरहेको छ ।’ गएको असार पहिलो साता पैसा फिर्ता माग्न आउने हजारको भीड अहिले सयमा झरेको ती कर्मचारीले बताए ।


